हेटौँडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । चितवनमा २ जना र काभ्रेपलाञ्चोक जिल्लामा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सामन्य टोलमा बाथरुममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत फलेबास घर भई हाल छोरीेको घरमा बस्दै आएका ८६ वर्षीय शशीधर पाध्य रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बाथरुममा नुहाउने क्रममा वृद्ध लडी घाईते भएका थिए । घाइते वृद्धलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, स्थित पोखरा बसपार्क पछाडि एक जना पुरुषको शव फेला परेको छ । मंगलबार बिहान १० बजेको समयमा नारायणी नदीको ड्याम साइड्मा नारायणी नदिले बगाएर ल्याएको शव रोल्पा जिल्ला बुढागाउँ–४ बस्ने ५१ वर्षीय ठगेन्द्र डाँगीको रहेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–४, तीनखुट्टेमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६० वर्षीय मान बहादुर बल र श्रीमती ५० वर्षीया केकाई माया बल रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार आफ्नै जस्ताले बारेको जस्ताले छाएको घर घरको पसल कोठामा श्रीमती केकाई माया र बल भान्छा कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।