बढी पानी खपत गर्नुका साथै नियमित शूल्क तिर्ने उपभोक्ता एभोकाडो अर्किड रिसोर्टका सञ्चालक भगिरथ शर्मालाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड १२ औं वर्षमा प्रवेश गरेको छ । मंगलबार बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले पानीको मुहान संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ । आफु विभिन्न देशमा खानेपानीको कार्यक्रममा पुग्दा केही बर्षपछि खानेपानीको मुहान सुक्ने क्रम बढ्ने कुरा उठेको पाइएको भन्नुहुँदै उहाँले पानीको मुहान संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरले २ लाख जनता लाभान्वित हुने गरी खानेपानी वितरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।

नेपाल खानेपानी संस्थानको हेटौँडा शाखा २०७० जेठ ८ गते विधिवत रुपमा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा खानेपानी बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको ११, १२ र १३ बाहेक सबै वडामा सेवा विस्तार गरिरहेको बोर्डमा अहिले १ लाख ६० हजार नगरवासी लाभान्वित छन् । बोर्डले एउटा सतहगत मुहान, १२ वटा समवेल र ३६ वटा डिप ट्युवेलबाट दैनिक ३ करोड ५० लाख लिटर खानेपानी उत्पादन गरी खानेपानी वितरण गरिरहेको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरुबाट ९ हजार ५ सय घरधुरीहरु हस्तान्तरण भएको छ ।

चालु आर्थिक बर्षमा बोर्डले वडा नम्बर ४, ५, ६, ७, १४ र १५ मा ५४ लाख ७४ हजारको लागतमा २३ हजार ४ सय मिटर पाइपलाइन विस्तार गरिएको छ । यस्तै हेटौँडा–१५, शिखरपानीमा शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण ट्याङ्कीसहित ४ सय ४७ वटा धाराहरु बोर्डमा हस्तान्तरण भएको छ ।

बोर्डले वार्षिकोत्सवको अवसरमा संस्थाका कर्मचारी, उपभोक्तालाई सम्मान गरेको छ । बोर्डबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइजेशन गरेको भन्दै हेटौँडा–१० स्थित आइकन सफ्ट प्रालिका प्रोपाइटर श्यामकल श्रेष्ठ, पाइनलाइन लिकेज र बोर्डसँग सम्बन्धित अन्य सूचना प्रदान तथा सारोकारवालाहरु बीच सौहाद्र्धपूर्ण वातावरण तयार गरेको भन्दै शिव बहादुर थापा, भीमसेन पौडेल र राजु अधिकारीलाई सम्मान गरिएको छ । यस्तै बोर्डबाट वितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल रकम भुक्तानी गर्ने उपभोक्ताहरु एभोकाडो अर्किड रिसोर्ट प्रालि, पुष्पा घिमिरे, कृष्णप्रसाद दंगाल, बलभद्र राना, र भवनाथ लामिछानेलाई सम्मान गरेको छ ।

यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु कार्यालयतर्फ मिटर रिडिङ्ग इकाईका कनिष्ठ सहायक अनिला सुवेदी, मिटर रिडर किशोर राज न्यौपाने, मिटर रिडर, चुहावट नियन्त्रण तथा वक्यौता असुलीमा उत्कृष्ट कार्य गर्ने विदुर खड्का, समग्र कार्यालयको कार्य सम्पादनमा उत्कृष्ट कार्य गर्ने सानुकान्छा जिम्बा, पम्प सहयोगी कृष्ण प्रसाद वाग्ले, फिल्ड सहयोगीहरु मोहन दोङ, गोकुल रिजाल, दीपक चौलागाई र चौकीदार दुर्गा बहादुर थिङलाई सम्मान गरिएको छ । यस्तै शाखा कार्यालयतर्फ उपभोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भई बोर्ड अन्तर्गत रहेर उत्कृष्ट कार्य गर्ने हर्नामाडी शाखाका केदार बहादुर थिङ र गीता विश्वकर्मालाई सम्मान गरिएको छ । यस्तै हटिया शाखाका सानुकान्छा थिङ र नुरेन्द्र राज ढकाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, संघीय खानेपानी आयोजनाका प्रमुख उज्वल प्रजापति र बोर्डका मकवानपुर जिल्ला सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।