सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौँडाः सेवानिवृत्त राष्ट्रसेवक संघ मकवानपुरले सेवा, सुविधा बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत समितिका अध्यक्ष भवनाथ नेपालले ज्ञापनपत्र बुझाउनुभएको हो ।

संघले विभिन्न १५ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । संघले राष्ट्रसेवकको तलबवृद्धि हुँदा तलबको शुरू अंकमा जति वृद्धि भएको छ सेवानिवृत्त कर्मचारीको हकमा दुई तिहाईले निवृत्तभरणमा वृद्धि हुने व्यवस्थामा सो दुई तिहाईलाई सतप्रतिशत वृद्धि गर्ने व्यवस्था गर्न माग गरेको छ । पारिवारिक निवृत्तिभरणलाई ५० प्रतिशतबाट ७५ प्रतिशत कायम गर्न पनि माग गरिएको छ । बहालवाला कर्मचारी सरह नै निवृत्त कर्मचारीको ५ लाख रुपैयाँसम्म स्वेदश वा विदेशमा उपचार सेवा प्राप्त गर्न पनि माग गरिएको छ ।