हेटौँडाः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले निशुल्क लेखापालन तालिम सुरु गरेको छ । आइतबार कमिटीका अध्यक्ष अभ्युदय खनालको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. यम बहादुर सिलवालको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख सिलवालले विद्यार्थीलाई सीपसहितको पढाई आवश्यकता रहेको बताउनुभयो । उहाँले पढ्दै कमाउँदै शिक्षामा यसले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिम आइतबारदेखि १० दिनसम्म सञ्चालन हुने कमिटीका वरिष्ठ उपाध्यक्ष सुजन सिलवालले बताउनुभयो । क्याम्पसका विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास क्षमताको विकासका लागि तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । तालिममा क्याम्पसका १ सय २० जना विद्यार्थी सहभागी छन् । दैनिक १० बजेदेखि ११ बजेसम्म सञ्चालन हुने तालिममा किशोर अर्यालले प्रशिक्षण दिइरहनुभएको छ ।