हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविको अक्षयकोषका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवम् सल्लाहकार रमेश प्रसाद खतिवडा र उहाँका दाइ कमलप्रसाद खतिवडाले संयुक्तरुपमा आमा भक्तकुमारी खतिवडाको स्मृतिमा विद्यालयले स्थापना गरेको विपन्न तथा गरिब विद्यार्थीलाई सहयोग गर्ने गरी स्थापना गरिएको अक्षयकोषमा सहयोग गरिएको हो ।
आइतबार विद्यालयमै पुगेर खतिवडा परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बास्ताकोटीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण कोइराला, विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकारको पनि उपस्थिति रहेको थियो । विपन्न तथा गरिब विद्यार्थीलाई लक्षित गरी विद्यालयले अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभएको छ । यसअघि विभिन्न शीर्षकमा रहेका अक्षयकोषहरुलाई एकीकृत गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभएको छ ।