हेटौंडाः मकवानपुर भीमफेदी गाउँपालिका–८, कालोपहिरोस्थित कान्तिलोकपथ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बा ९० प ५५४ नम्बरको मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका–६, लिचीटोलकाट ३१ वर्षीय राम बहादुर राय क्षेत्री र पछाडी सवार ३१ वर्षीय हरी कृष्ण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा उक्त सडकखण्डमा हेटौँडाबाट ललितपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोकिएको थियो । पोलमा ठोक्किएर मोटरसाइकल सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको थियो । चालक क्षेत्रीको बाँया हात, छात्ती र अधिकारीको निधार र बाँया आँखामुनी चोट लागेको जनाएको छ । घाइते दुवैजनालाई उद्धार गरी ठिंगन स्वास्थ चौकीमा उपचारपश्चात थप उपचारका लागि हेटौंडा ल्याइएको जनाएको छ ।