मतदान गर्दै विद्यार्थी ।

हेटौंडाः विद्यार्थीबीच नेतृत्व चयनका लागि हेटौंडा–१, चाइनाक्वाटरको अमर माध्यमिक विद्यालयमा निर्वाचन भएको छ । शुक्रबार विद्यालयमा स्कूल क्याप्टेन तथा भाइस क्याप्टेन र कक्षा मोनिटरको चुनाव भएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमाकान्त गौतम, सदस्य मीना लामा एवम् विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीको उपस्थितिमा निर्वाचन भएको हो । विद्यालयको सहायक प्रधानाध्यापकद्वय विश्वराज भण्डारी र डीबी बर्तौला निर्वाचन अधिकृत हुनुहुन्थ्यो । विद्यालयका शिक्षकहरु सिर्जना खतिवडा, प्रमिता विडारी, अकुरप्रसाद गौतम, ज्ञानु पौडेल, सन्दिपा विडारी, रमेशकुमार बर्तौला, रुशा बर्तौलालगायतको निर्वाचन कार्यमा सहभागिता थियो ।

गत जेठ १ गतेदेखि निर्वाचन कार्यक्रम सुरु गरी निर्वाचन गराइएको हो । १ गते उम्मेदवारी दर्ता र फिर्ता तथा सहमतिको प्रयास गरिएको निर्वाचन अधिकृत बर्तौलाले जानकारी दिनुभयो । जेठ २ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दै मतदान शिक्षासमेत दिइएको उहाँले बताउनुभयो । जेठ २ र ३ गते उम्मेदवारको प्रचारप्रसारको लागि समय दिइएको र ४ गते निर्वाचन सम्पन्न गरिएको बर्तौलाले जानकारी दिनुभयो ।

निर्वाचनबाट ४९ मत प्राप्त गरी स्कूल क्याप्टेनमा विमला दाहाल विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी सक्षम गिरीले ४७ मत प्राप्त गर्नुभएको थियो । स्कूल क्याप्टेनमा ६ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत बर्तौलाले जानकारी दिनुभयो । यस्तै, स्कूल भाइस क्याप्टेनमा ८३ मत प्राप्द नम्रता पराजुली विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी युरोज थिङले ८२ मत प्राप्त गर्नुभएको हो । भाइस क्याप्टेनमा ४ जनाको उम्मेदवारी थियो ।

निर्वाचनबाट कक्षा ४ को मनिटरमा सुदिना बानियाँ, कक्षा ५ को मनिटरमा खुसी आले र कक्षा ६ को मनिटरमा ऋचा आले विजयी हुनुभएको छ । यस्तै, कक्षा ७ को मनिटरमा जितु शाह, कक्षा ८ को मनिटरमा विपिसा विक, कक्षा ९ को मनिटरमा निशा लामा र कक्षा १० को मनिटरमा इशा जिम्मा र सविना थिङ विजयी हुनुभएको निर्वाचन अधिकृत बर्तौलाले जानकारी दिनुभयो । निर्वाचनमा ४६ जनाको उम्मेदवारी रहेको थियो ।