हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित महाबुद्ध आधारभूत विद्यालयमा विद्यार्थीका लागि फ्रेन्डसीप क्याम्प सुरु भएको छ । २ रात ३ दिने क्याम्पमा विद्यार्थीहरुको लागि गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न क्रियाकलापको आयोजना गेरको हेटौैंडा उपमहानगरपालिका स्काउट समितिका स्थानीय प्रमुख अनिल आचार्यले जानकारी दिनुभयो । नेपाल स्काउट बागमती प्रदेश स्काउट, स्थानीय स्काउटको व्यवस्थापनमा उक्त क्याम्प भइरहेको हो ।
बुधबारदेखि सञ्चालन भएको क्याम्पमा हेटौंडा उपमहानगरपालिकाका ५ वटा विद्यालय र बागमती गाउँपालिकाको दुई विद्यालय गरी २ सय १० जना विद्यार्थीको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको स्काउट विद्यार्थीे अतिथि सहभागिता रहेको हो ।
स्काउटको पहिलो दिन गाउँपालिकाका प्रमुख सर्केस घलानले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो दिन स्काउटका ११ जना विद्यार्थीले प्रमुखलाई १० वटा प्रश्नउत्तर सोध्ने कार्य गरेका थए भने सांस्कृतिक फेसन शोको आयोजना पनि गरिएको थियो । दोस्रो दिन बिहीबार नृत्य, क्याम्पफायर, बिना भाँडा खाना पकाउने प्रतियोगिता, ओमेगा जम्प, सुपर जम्पजस्ता क्रियाकलाप भएको छ ।
स्काउटमा १० वटा नियम र ३ वटा प्रतिज्ञामा अभियान सञ्चालन गरिन्छ । स्काउटले विद्यार्थीलाई नेतृत्व गर्न र अनुशासनमा रहन सहयोग गर्छ । स्काउटबाट अभिभावकको सकारात्मक समीक्षा प्राप्त भइरहेको आचार्यले बताउनुभयो । यो गाउँपालिकाको दोस्रो फ्रेन्डसीप क्याम्प हो । यसअघि सूर्य माविले क्याम्पको आयोजना गरेको थियो । स्काउटले बालबालिकालाई स्वयम्सेवा गर्न सहयोग गर्नुका साथै सानैमा क्रियाशील बनाउने आचार्यले बताउनुभयो ।