हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकाभित्रका श्रम क्षेत्रमा बिहिबार बालश्रमको विषयमा अनुगमन भएको छ । श्रम तथा रोजगार कार्यालय हेटौँडाको नेतृत्व, मनहरी गाउँपालिका र सिविन बाल हेल्पलाइन १०९८ को संयुक्त सहकार्यमा सम्पन्न अनुगमन मनहरीको ७, ८ र ९ नम्बर वडाका व्यवसायहरुमा अनुगमन गरिएको हो ।
अनुगमन कार वास सेन्टर, वर्कशप, होटल, किराना तथा फेन्सी स्टोर्सहरुमा गरिएकोमा ७ जना बालश्रमिक काम गरिरहेको अवस्थामा फेला पारी व्यवसाय सञ्चालकलाई स्पष्टीकरणको लागि तत्कालपत्र समेत बुझाइ उपस्थित हुन ७ दिनको म्याद दिइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले बताउनुभयो । जे के वास सेन्टर मनहरी–९ मा १७ बर्षीय एक बालक, शाह मोटरसाइकल वर्कशप मनहरी ९ मा १४ वर्षीय एक बालक, बर्तौला सप्लायर्स मनहरी ७ मनहरी बजारमा एक जना १३ वर्षीय बालक, रजैया बाइक वर्कशप, मनहरी–८ मा १७ वर्षीय एक बालक, बर्तौला खाजा घर मनहरीमा १३ वर्षीया एक बालिका र सरस्वती फेन्सी मनहरी बजारमा १७ वर्षीय एक बालिका गरी जम्मा ४ बालक र २ बालिका फेला परेका बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवालीले बताउनु भयो ।
श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायणश्रेष्ठ, नायब सुब्बा भिमप्रसाद शर्मा, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीका दिनेश थापा क्षेत्री, बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, मनहरी गाउँपालिकाका बालअधिकार समिति देवकी ढुङ्गाना, बालमैत्री सहजकर्ता सुशीला नेपालीलगायतको टोलीले अनुगमन सम्पन्न गरेको हो ।