हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविको सभाहलमा कला महोत्सवको उद्घाटन गरिएको छ । तीन दिनसम्म हुने महोत्सवको उद्घाटन बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री शैलेन्द्रमान बज्राचार्यले गर्नुभएको हो ।
बिहीबार स्याटर्डे फिल्न एयर, काठमाडौंको आयोजनामा भएको कार्यक्रममा एयरका संयोजक दिवेश प्रधानले आगामी दिनमा हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा हुने कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको छ । महोत्सवको पहिलो दिन उद्घाटनसँगै चित्रकला प्रदर्शनी कार्यक्रम भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार बीएस राणालाई हरिभजनमान सिंह प्रधान ललितकला सम्मान–२०८१ प्रदान गरिएको थियो भने वैशाख १२ गते भएको अन्तरविद्यालय आधारभूत तह र माध्यमिक तहको चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने ८ जना बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो । महोत्सवको पहिलो दिन कार्यपत्र प्रस्तुति, कला संवाद र प्रत्यक्ष चित्रकला सिर्जना कार्यक्रम भएको छ ।
कार्यक्रमको दोस्रो दिन आज शुक्रबार पहिलो सेसन भुटनदेवी मन्दिर परिसर, हेटौंडा–१० मा खुला चित्रकला कार्यशाला र भजन गायन आयोजना गरिएको छ । दोस्रो सेसनमा पुष्पलाल पार्क सानो पोखरामा चित्रकला कार्यशाला र सांगीतिक प्रस्तुति हुनेछ । तेस्रो दिन शनिबार पहिलो सेसनमा मनकामना डाँडा, पाथीभरा हेटौंडा भ्यू टावर, गुम्बाडाँडा हर्नामाडी र मकवानपुर गढीमा कला भ्रमणको व्यवस्था गरिएको छ भने दोस्रो सेसनमा शहीद स्मारक, थानाभ¥याङ, हेटौंडा–१ मा खुला चित्रकला कार्यशाला, कला संवाद र महोत्सवको समापन गरिने जनाइएको छ । यस महोत्सवबाट उठेको ५० प्रतिशत रकम मानवसेवा आश्रममा हस्तान्तरण हुने प्रधानले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश, संस्कृति तथा पर्यटनमन्त्री बज्राचायको प्रमुख आतिथ्य रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्बम्छालीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको आतिथ्य रहेको थियो । स्याटर्डे फिल्न एयरका वरिष्ठ कलाकार तथा अध्यक्ष राकेशचन्द्र श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र कलाप्रेमीको सहभागिता रहेको थियो ।