हेटौंडाः हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ चाँदेपुलमा स्कुटर र ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा फरार भएका ट्याक्टर चालक पक्राउ परेका छन् । बिहिबार बिहान ७ बजेर ३५ मिनेटको समयमा प्रहरीले चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमानका ४१ वर्षीय खड्का बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।
बुधबार साँझ ८ बजेको समयमा झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कूटर र विपरित दिशाबाट जाँदै गरेको ना ७ त २२५९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा हेटौँडा–१३ का ४५ वर्षीय केशव मुडभरी गम्भीर घाइते भएका थिए । घाइते मुडवरीको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलभन्दा ३ किलोमिटर पर भोर्लेनीहुँदै काभ्रे जाने भित्री सडकखण्डमा रोकिएर राखेको ट्याक्टर फेला पारी उक्त ट्याक्टरमा लोड भएको रडमा ठोकिएर दुर्घटना भएको जस्तो देखिएपछि प्रहरीले ट्याक्टरलाई बुधबार राति नै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ट्याक्टर चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।