हेटौंडाः बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको बैठक बुधबार बसेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा विशेष समयमा बोल्न चाहने प्रदेशसभा सदस्यहरुको नाम दलीय आधारमा प्राप्त भएको र शून्य समय नरहेको बताउनुहुँदै बैठक सुरु भएको घोषणा गर्नुभयो ।
बैठकमा बोल्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको राजधानी हेटौंडाको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने बताउनुभएको छ । अस्पताललाई प्रतिष्ठानबाट अलग राखेर जान सकिने भन्दै उहाँले अहिले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुलाई सहमतिका आधारमा हेटौंडा अस्पतालमा प्राक्टिकल गराउन सकिने बताउनुभयो ।
हेटौंडा अस्पतालको पहिचानलाई कायम गर्दै हेटौंडा अस्पताल छुट्टै रहने गरी काम गर्न सरकारले ध्यान पु¥याउनुपर्ने उहाँको भनाइ छ । उहाँले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशका सर्वसाधारण जनताले पाउने काममुखी, गाउँमुखी र सेवामुखी कार्य हुने नीति, कार्यक्रम तथा बजेट आउने आफूले आपेक्षा लिएको बताउनुभयो । अहिले प्रदेश सरकारले विशेषगरी आगलागी र चट्याङले प्रदेशभित्र भएका विभिन्न ठाउँका क्षतिको मूल्याङ्कन गरी सम्बन्धित पालिकाबाट प्रदेश सरकार छ भन्ने अनुभूति दिलाएर तत्काल राहत उपलब्ध गराउन माग उहाँले माग गर्नुभयो ।
उहाँले संघीयता, धर्मनिरपेक्षता, समावेशीतामाथि चुनौती खडा भएको बताउनुभयो । सरकार हरेक कुराको निर्णय गर्दै जाने तर कार्यान्वयन नहुने गरेको भन्दै उहाँले यो व्यवस्थामा चुनौती खडा भएको बताउनुभयो । प्रदेश सरकारले तामाङ र नेपाल भाषा कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्ने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको बताउनुहुँदै उहाँले ध्यानाकर्षण गराउनुभयो । उहाँले यो व्यवस्थामा दिन प्रतिदिन जनतामा किन निराशा बढ्यो ? र संविधानमा उल्लेख भएको कुराहरु किन कार्यान्वयन भएन ? प्रश्न गर्नुभयो । प्रदेश सरकार सञ्चालन भएको दोस्रो कार्यकाल सुरु भइसक्दा पनि प्रहरी र कर्मचारी संरचनाको अधिकार प्रदेशलाई किन नआएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले संघीयता कसले कमजोर बनाउँदैछ भनेर अरुलाई भन्न नहुने भन्दै अहिले गणतन्त्र र संघीता ल्याउने भन्ने दलहरु नै जिम्मेवार भएको उहाँले आरोप लगाउनुभयो । अहिले संघीयता आएर सबैजसो ठाउँमा बाटोघाटो पुगेपनि जनतामा निराशा रहेको भन्दै उहाँले आयआर्जनमा जोड्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । राम्रो काम गरेर जनतालाई सेवा दिएमा संघीयताप्रति जनताको विश्वास बढ्ने उहाँको भनाइ छ ।
यस्तै, बैठकमा आफ्नो मातृभाषा (तामाङ) मा बोल्नुहुँदै नेकपा एमालेका सांसद ज्ञानबहादुर तामाङले प्रदेशमा तामाङ र नेपाल कामकाजी भाषा कार्यान्वयन भए पनि भाषा अनुवादक किन नराखेको भनि प्रश्न गर्नुभयो । आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रदेशसभाको बैठकमा पहिलो पटक तामाङमा बोलेको बताउनुहुँदै उहाँले आगामी आर्थिक वर्षको नीति, योजना, कार्यक्रम तथा बजेट तामाङ र नेपाल भाषामा पनि ल्याउन माग गर्नुभयो । उहाँले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहको सबै वडामा भाषा अनुवादक राख्न आग्रह गर्नुभयो । उहाँले कुरा धेरै गर्ने तर काम कम गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
बैठकमा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीकी सांसद श्रृजना सायजुले अर्थतन्त्र चलायमान नभइरहेको प्रदेशमा प्रदेश सरकारले तत्काल स–साना भौतिक निर्माणका कामहरु गर्न आवश्यक रहेको बताउनुभयो । इमानदार निर्माण व्यवसायीलाई काम गर्न दिएमा आर्थिक र सामाजिक दृष्टिले जनता पनि लाभदायी हुने उहाँको भनाइ छ । प्रदेश सरकारले राष्ट्रिय पुँजी निर्माण तथा विकासमा लागेर बन्द रहेको सरकारी उद्योग चलाउनुपर्ने र जनतालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो उत्पादन नभएको र पूर्णरुपमा अरुमा आत्मनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन र जोड दिने नीति, योजना, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने बताउनुभयो ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले चालु आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम व्यवहारमा लागू नगरेको आरोप लगाउनुभयो । अपाङ्गता भएको व्यक्तिहरुका लागि लेखिएको नीति व्यवहारमा कार्यान्वयन नभएको उहाँले बताउनुभयो । सरकारका पछिल्ला घटनाक्रमले जनतामा निराशा बढिरहेको उहाँको भनाइ छ । नयाँ र पुराना सबै पार्टी सरकार बनाउने र ढाल्ने काममा मात्र लागिरहेको आरोेप लगाउनुहुँदै जनताको काममा कुनै ध्यान नपुगेको बताउनुभयो । कृषिप्रधान देशमा सरकारले खेती गरेर जीविकोपार्जन गर्नसक्ने वातावरण नबनाएको उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद ठूला थामीले सरकारले प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै विकास निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । अहिले प्रदेशभित्रको शिक्षामा धेरै व्यथिति रहेको उहाँको भनाइ छ । निजी विद्यालयले मनलाग्दी शुल्क लिएर पढाइरहेको भन्दै उहाँले यसलाई सरकारले रोक्ननुपर्ने बताउनुभयो । अहिले सरकारी विद्यालयहरु खाली भइरहेको बताउनुहुँदै उहाँले शिक्षा क्षेत्र सरकारको पहुँचमा हुनुपर्ने बताउनुभयो ।