हेटौँडाः रोटरी क्लब अफ हेटौँडाले नेपाली क्रिकेट टिमको पूर्वराष्ट्रिय प्रशिक्षक तथा वर्तमान यु–१९ टिमका प्रशिक्षक जगत बहादुर टमाटालाई १ लाख राशीसहित सम्मान गरेको छ । बुधबार हेटौँडामा एक समारोहका बीच रोटरी क्लब अफ हेटौँडाले भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले टमाटालाई सम्मान गर्नुभयो ।
रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेलको अध्यक्षता तथा मन्त्री मोक्तानको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो । क्रिकेट खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै रोटरीले टमाटालाई सम्मान गरेको हो । टमाटाकै प्रशिक्षणमा नेपाली यु–१९ क्रिकेट टिम ५ पटक विश्वकपमा सहभागी हुन सफल भएको थियो । रोटरी क्लब अफ हेटौँडाको भोकेसनल एक्सिलेन्स अवार्ड प्राप्त गर्ने टमाटा छैठौं व्यक्ति हुनुहुन्छ । यसअघि डेन्टीजंग शाह, प्रा.डा. बसन्त विडारी, फिफा रेफ्री कल्पना शर्मा, प्रा.डा. गोपालरमण शर्मा र प्रा.डा. प्रेमराज वैद्य सम्मानित भइसक्नुभएको छ ।
यसै बर्षदेखि रोटरी क्लबले सम्मानको राशी बढाएको हो । यसअघि २५ हजार रुपैयाँ रहेको सम्मान राशी यस बर्षदेखि एक लाख रुपैयाँ पुर्याइएको हो । सम्मानपछि क्रिकेट प्रशिक्षक टमाटाले सम्मानमा प्राप्त एक लाख रुपैयाँ मध्ये ५० हजार रुपैयाँ मकवानपुर जिल्ला क्रिकेट संघलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभयो । क्रिकेट खेलको विकासमा योगदान पुर्याएवापत यसअघि पनि धेरै सम्मान प्राप्त भए पनि हेटौँडामा रोटरीबाट प्राप्त सम्मान विशेष भएको उहाँको भनाइ थियो । क्रिकेटको विकासमा आफूले अझै योगदान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सम्मान कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अञ्जनी पराजुली, रोटरी क्लब अफ हेटौँडाका पूर्वअध्यक्षहरुको पनि आतिथ्य रहेको थियो । सम्मान समारोहअघि बुधबार दिउँसो हेटौँडा–४ स्थित रोटरी भवनमा मकवानपुर जिल्ला क्रिकेट संघका पदाधिकारी, बागमती प्रदेश समितिका पदाधिकारी, क्रिकेट खेलाडीले प्रशिक्षक टमाटासँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रशिक्षक टमाटाले क्रिकेट टिममा क्याप्टेनको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने बताउनुभएको थियो । उहाँले मकवानपुर जिल्लाको क्रिकेट खेलको विकासमा आफू सदैव सहयोग गर्न तयार रहेको पनि बताउनुभएको थियो ।