हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका कार्यालयमा कार्यरत ३ जना प्रहरी निरीक्षकहरुलाई विदाई गरेको छ । मंगलबार मकवानपुरका तीन जना प्रहरी निरीक्षकहरुलाई विदाई गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी निर्वाह गरिरहनुभएका प्रहरी निरीक्षक बसन्त आचार्य, इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रमुखको रुपमा कार्यरत सचिता थापा मगर र बकैया गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय ठिंगनमा प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण गिरीलाई विदाई गरिएको हो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल र प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायतले विदाई गर्नुभएको हो ।
प्रहरी निरीक्षक आचार्यले २०७९ को चैत ६ गतेदेखि जिल्ला ट्राफिक कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै प्रहरी निरीक्षक मगरले गत भदौ १० गतेदेखि इलाका प्रहरी भीमफेदीको प्रमुख र गिरीले पनि भदौ १० गतेबाट इलाका प्रहरी कार्यालय ठिंगनको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रहरी निरीक्षक आचार्य विमानस्थल समन्वय शाखा नक्सालमा, मगर नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा नक्साल र गिरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएर जानुहुनेछ ।
ट्राफिक प्रमुखमा अधिकारी, भीमफेदीमा ढकाल र ठिंगनमा दाहाल आउने
यसैबीच जिल्ला ट्राफिक कार्यालय मकवानपुरको प्रमुखमा प्रहरी निरीक्षक केशव अधिकारी आउनुहुने भएको छ । अहिलेका ट्राफिक प्रमुख बसन्त आचार्य सरुवा हुनुभएसँगै प्रहरी वृत्त गौशाला काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अधिकारी मकवानपुुर आउनुहुने भएको हो ।
यस्तै इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रमुखको रुपमा प्रहरी निरीक्षक ललिता ढकाल आउनुहुने भएको छ । ढकाल नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत प्रहरी निरीक्षक भीमफेदी आउनुहुने भएको हो ।
इलाका प्रहरी कार्यालय ठिंगनको प्रमुखको रुपमा प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल आउनुहुने भएको छ । दाहाल यसअघि नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा कार्यरत हुनुहुन्थ्यो ।