तालिममा सहभागिहरुले बाँसका फेन्सी सामग्रीहरुको तस्वीर

हेटौँडाः मकवानपुरगढी गाउँपालिकाको आयोजनामा मकवानपुरगढी–२, पौवाडाँडामा गरिबी निवारणका लागि गरिएको लघुउद्यम विकास तालिम सम्पन्न भएको छ । बैशाख १५ गते शनिबारदेखि संचालन भएको बाँसको हस्तकला बनाउने एड्भान्स सीप विकास तालिम बैशाख ३० गते आइतबार सम्पन्न भएको गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

तालिममा १७ जनाको सहभागिता रहेको थियो । जसमध्ये १२ जना महिला र ५ जना पुरुष रहेका छन् । तालिममा बाँसका फेन्सी सामग्रीहरु फोटो फ्रेम, मन्दिर, कलम दानी, फुलदानी, भित्ते घडी, फाइल बक्स, टि–म्याट, ट्रे, चुरा स्ट्याण्ड लगायतका सामग्रीहरु बनाउन सिकेका चौधरीले जानकारी दिनुभयो । गत वर्ष बाँसका हस्तकला सामग्री बनाउने तालिम लिएकालाई र थप नयाँ सहभागीहरुलाई एड्भान्स सीप विकास तालिम दिइएको थियो । तालिममा सहभागीहरुले सिकेका सीप व्यवहारमा लागु गर्ने र व्यावसायिक उत्पादनमा लाग्ने प्रतिवद्धता जनाएको चौधरीले जानकारी दिनुभयो ।

पहिले सिकेका समूहले अर्डर अनुसार बाँसको डस्टविन, टि–टेबल, मुढा, तरकारी राख्ने क्रेट, बूक र्याक लगायतका सामग्रीहरु बनाएर बिक्री गरिरहेका छन् । बजारीकरणका लागि स्थानीय सरकार लगायत सबै सरोकारवाला पक्षहरुलाई सहयोग गरिदिन सहभागीहरुले अनुरोध समेत गरेका उहाँले जानकारी दिनुभयो । समापन कार्यक्रममा वडाध्यक्ष बखान सिंह पाख्रिनको अध्यक्षता तथा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।