हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ ले ५५ जना छात्रालाई साइकल वितरण गरेको छ । वडा नम्बर १ मोरङ्गेमा रहेको सरस्वती माविले आइतबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई शैक्षिक सुधारका लागि साइकल वितरण गरेको वडा नम्बर १ का वडा अध्यक्ष आशीष तितुङले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनका लागि धेरै टाढाबाट विद्यार्थी आउनुपर्ने समस्या भएका कारण विद्यालय आवतजावत गर्न सजिलो होस् भनेर विद्यार्थीलाई साइकल वितरण गरेको वडा अध्यक्ष तितुङले जानकारी दिनुभयो । वडाले ५ लाख लागतमा विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको थियो ।
शैक्षिक शत्र २०८० को अन्तिम परीक्षामा सहभागी भई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुलाई पुरस्कारस्वरुप कपी र कलम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले बजेटको व्यवस्था गरिदिए दुर्गम भेगबाट पठनपाठनका लागि डेरा गरी बस्ने विद्यार्थीलाई डेराभाडा प्रदान गर्ने लक्ष्य रहेको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयलाई हाल भवन, घेराबार र मावि शिक्षकको आवश्यकता रहेको छ । गतवर्ष गाउँपालिकाले संघीय अनुदानअन्तर्गत् १ जना मावि शिक्षकको व्यवस्था गरेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ४ सय ४२ जना विद्यार्थीहरु रहेका छन् ।
कार्यक्रम वडा अध्यक्ष तितुङको सभाध्यक्षता एवम् गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमा गाउँपालिका शिक्षा स्रोतव्यक्ति नारायणप्रसाद चापागाईको विशेष आतिथ्य, चन्द्रप्रसाद देवकोटा, पञ्जीकरण इकाई प्रमुख मिलनकुमार गौतम, वडा सचिव मुकेशप्रसाद कुसवाह, विद्यालयका प्रधानाध्यापक अधिकारीलगायतको उपस्थिति थियो ।