आज धेरैपछि मौसम खुलेको छ ड्रेस्डेन (पूर्वी जर्मनीको एक सहर) मा । अप्रिलको अन्त्य हुनै लाग्दा समेत जाडो नगएको देखेर दिक्क भएको मन एक झुल्को घाम देख्न पाउँदा पनि के–के नै भए जसरी रमायो । दराजमा भएको एक मात्र त्यो पनि दुइपटक पहिले नै पढिसकेको नेपाली आख्यान अनि चार दाना सुन्तला बोकेर निस्किएँ बरण्डामा । बुद्धिसागरको “एक्लो” मगाएको थिएँ एकजना साथीमार्फत पोहोर नै । दुई बर्षे मेरो जर्मनी बसाइको क्रममा नेपाली साहित्यसँग मेरो प्रेमको साख जोगाइराख्न यत्ति एउटा किताब बीउ बनेर रह्यो मेरो दराजमा । काखमा किताब राखेर सुन्तलाको बोक्रा छोडाईरहँदा एक पत्र स्मृतिको पाना पनि सँगै उप्किएजस्तो भयो । सम्झिन खोजे नेपाली साहित्यप्रतिको मेरो यो प्रेमको बिजारोपण कहाँ अनि कसरी भयो ? एक निमेष पनि लागेन “रोशनी पुस्तकालय“ को त्यो पुरानो भवनको एचडी (हाइ डेफिनिसन) चित्र मगजमा बन्न ।
क्रिस्टोफर नोलानको एउटा फिल्म छ, “इन्सेप्सन” । त्यो फिल्मको एउटा हिरोले भन्छ “कसैलाई पनि सपनाको सुरुवात कसरी भयो भन्ने याद हुँदैन ।” अब यो फिल्मी कुरा वैज्ञानिक हिसाबले कति सही हो कति गलत मलाई थाहा छैन तर मलाई पनि कुनै मिठो सपनाजस्तै मैले ठ्याक्कै कुन दिनबाट रोशनी पुस्तकालय जान थालेँ भन्ने याद छैन । बिसं. २०६४ सालको कुरा हो म आधुनिक राष्ट्रिय माविमा कक्षा नौ मा पढ्दै थिएँ । मेरो दैनिकी बिहान विद्यालय जाने, विद्यालयबाट फर्केर खाजा खाने अनि दौडेर पुस्तकालय जाने थियो । मलाई जहिले हतार हुन्थ्यो पुस्तकालय गएर नयाँ नयाँ किताब पढ्न, तेस्मा पनि म उपन्यासको फ्यान । मैले मेरो जीवनको पहिलो उपन्यास सरुभक्तको पागल बस्ती पढेको थिएँ । जम्मा १४ बर्षको थिएँ त्यतिबेला । अहिले दोहोर्याई, तेहेर्याई पढ्दा त म पागल बस्तीका सप्पै कुराहरु बुझ्दिन त्यो सानो उमेरमा के बुझेर पढेँ होला । अरु कुरा नबुझे पनि मैले त्यतिबेलै के कुरा बुझेँ भने मलाई पुस्तकालय जान असाध्यै मन पर्छ । मेरो पुस्तकालय जाने दैनिकीले करिब दुई बर्ष निरन्तरता पायो । त्यसपछि एसएलसी परीक्षा नजिकिएको कारण मेरो प्राथमिकता बदलियो अनि मैले पुस्तकालय जान बिस्तारै कम गरेँ । त्यसपछि भविष्य खोज्ने दौडमा लाग्दा मैले रोशनी पुस्तकालयलाई मानौ चटक्कै बिर्सिएँ ।
डेढ बर्ष अगाडि जर्मनी आउँदा मैले पुस्तकालय नटेकेको एक दशक भन्दा बढि भइसकेको थियो । यहाँ आएर जब मैले पहिलोपटक विश्वविद्यालयको पुस्तकालय टेकेँ, मैले एकैपटक १५ बर्षको फड्को मारेँ आफै अतितमा । मेरो स्मृतिले मलाई त्यो रोशनी पुस्ताकालयको आँगनमा लगेर उभ्याइ दियो । पहिलो पढेको किताब याद आयो, माया गर्नुहुने सुरेश दाइ, संगीन दाइ अनि मौसमी दिदीको याद आयो । पुस्तकालयबाट देउसीभैलो खेल्न गएको याद आयो । युरोपका भब्य पुस्तकालयका फराकिला टेबल–कुर्सी, सिंगारिएका भित्ता अनि हजारौ विद्यार्थीको उपस्थितिले जगमग माहोल देख्दा, रोशनी पुस्तकालयको साना बेन्चहरु, किताब राख्ने दराजहरु, साँघुरो कोठा अनि पुराना भित्ताहरु याद आयो । सम्झिएँ कत्ति फरक छन् मान्छेले बस्ने ठाउँ पाउन पालो कुर्नुपर्ने यहाँका पुस्तकालयहरु अनि उल्टै मान्छे पर्खिएर बस्ने त्यो पुस्तकालय । धेरै कुरा फरक हुँदा–हुँदै पनि सबैभन्दा महत्वपूर्ण एउटा कुरा भने यी दुबैमा समान भेटेँ, यी पुस्तकालयहरुले किताबकोरुपमा संगालेर राखेका “अथाह ज्ञान ” । अझै ६ महिना छ नेपाल फर्किनँ । यसपटक हेटौँडा जाँदा पुस्तकालय पक्का जान्छु भन्ने लागेको छ । साँच्चै भन्दा नयाँ–नयाँ माया बस्दा प्रेमीलाई भेट्ने हतारोजस्तै छ मलाई यो पटक रोशनी पुस्तकालय जाने हतारो ।
म्यासेन्जर अनि ह्वाट्स्याप्पमा हजारौं मानिस एकै पटक एक्टिभ भइरहँदा हाम्रा पुस्तकालयहरु युजर नभेटेर खाली रहेका छन् भन्ने सुन्दा साह्रै दुख लाग्छ । त्यसैले तपाई पनि भाग्दौडको जिन्दगीमा थोरै भए पनि फुर्सद निकालेर आफ्नो नजिकैको पुस्तकालय जानुहोला । पुस्तकालयका शून्य कोठा, खाली बेन्च, दराजभरिका किताबले तपाईलाई पर्खिरहेका हुन सक्छन् ।
(हेटौँडा–५, हाल जर्मनी ।)