हेटौँडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले आयोजना गरेको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधिका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाबीच भिडन्त हुनेभएको छ । बुधबार बिहान सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक महांकाल गाउँपालिकालाई ३–२ को सेटले पराजित गर्दै मकवानपुरको थाहा नगरपालिका फाइनल प्रवेश गरेको हो ।
पहिलो र दोस्रो सेट क्रमशः २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको थाहा नगरले तेस्रो र चौथो सेट भने २२–२५ र १७–२५ ले गुमाएको थियो । अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै थाहा नगर फाइनल प्रवेश गरेको हो । यसअघि मंगलबार साँझ अँध्यारो भएपछि महांकाल र थाहा नगरबीचको खेल पूरा खेल्ने अवस्था नहुँदा बुधबार बिहानका लागि सारिएको थियो । हेटौँडा उपमहानगरपालिकाले भने सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकालाई ३–१ को सेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बुधबारै हुने बताइएको छ ।
प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास समिति ललितपुर, राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टिमले एक–एक लाख रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई ५० हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो ।