सन्दर्भः आमाको मुख हेर्ने दिन
हेटौँडाः हेटौँडा–५, पिप्लेस्थि बालज्योति माध्यमिक विद्यालयका विद्यार्थीले आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसीको दिन बुधबार आफ्नै आमाको चित्र कोरेर आमालाई उपहार दिएका छन् । विद्यालय परिसरमै आमालाई चित्र हस्तान्तरण गरेका हुन् ।
सोमबार र मंगलबार दुई दिन विद्यार्थीलाई आमाको चित्र कोर्न समय दिइएको र विद्यार्थीले आमालाई विद्यालयमै बोलाएर चित्र वितरण गरेको विद्यालयका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभयो । पूर्वप्राथमिक तहदेखि ५ कक्षासम्मका सबै विद्यार्थीलाई भनिएको र ६ कक्षा भन्दा माथिल्लो कक्षाका विद्यार्थीलाई ऐच्छिक रुपमा चित्र कोर्न भनिएको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो । कक्षा ६ भन्दा माथिल्लो कक्षाका २५ जना विद्यार्थीले चित्र कोरेर आमालाई हस्तान्तरण गरेका छन् ।
आमाको मुख हेर्ने दिन जस्तै मौलिक परम्परा, संस्कृति र पर्वको सन्दर्भमा विद्यार्थीलाई पूर्वजानकारी गराएर तयारी गर्न आग्रह गर्दै विद्यालयले आवश्यक सहजीकरण गर्ने गरिएको प्रधानाध्यापक अर्यालको भनाइ छ । विद्यालयले अतिरिक्त क्रियाकलापका लागि संयोजकहरु समेत नियुक्त गरेको उहाँले जानकारी दिनुभयो ।