हेटौंडाः तामाङ र नेपाल भाषालाई बागमती प्रदेश सरकारी कामकाजी भाषाको रुपमा लागु गरेको अवसरमा प्रदेशको राजधानी हेटौंडामा र्याली निकालेको छ । सोमबार बिहान तामाङ र नेपाल भाषा दिवस मुल समारोह समिति मकवानपुरको आयोजनामा र्याली निकालेको हो ।



सोमबार बिहान काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा शुभारम्भ गर्नुभएको छ । सोही अवसरको खुशीयालीमा तामाङ घेदुङ संघ र नेवाः देय दबुको आयोजनामा मकवापनुरमा र्याली निकालेको हो । हेटौंडाको बुद्धचोक, सिमाचोक, स्कुलरोड, पारिजात पथ, कान्तिराज पथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनको उपस्थितिमा ¥याली निकालिएको छ ।



नेवाः देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा नेवा साँस्कृतिक संग्रहालय शिलान्यास भएको छ । अध्यक्ष महर्जन र प्रमुख घलानले संयुक्त रुपमा संग्रहायलको शिलान्यास गर्नुभएको हो । संग्रहालयका लागि बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले तत्काल १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटले फाउन्डेसन बन्ने र बाँकी भवनका लागि थप बजेट आवश्यकता पर्ने अध्यक्ष महर्जनले बताउनुभयो । यसका लागि २ करोड जति बजेट आवश्यक पर्ने र नेवारी संस्कृति झल्किने वस्तुहरु संग्राहलयमा राखिने उहाँले बताउनुभयो ।


