हेटौंडाः हेटौडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीको समूहले नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । शनिबार श्रमिक क्रियाशील विद्यार्थी समूहको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यालयले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोषमा ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।

श्रमिक क्रियाशील विद्यार्थी समूहका अध्यक्ष सपना लामाले रकम हस्तान्तरण गर्नुभएको थियो । विद्यालयले गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरेको ६ महिना भएको छ । ६ महिना अवधिमा अक्षयकोषमा करिब २ लाख रुपैयाँ जम्मा भएको प्रधानाध्यापक दहालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, प्रधानाध्यापक श्रीराम दहाल, सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेल र श्रमिक क्रियाशील विद्यार्थी समूहमा आवद्ध विद्यार्थीहरुको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयले यसवर्ष ३ सय जना विद्यार्थी भर्ना गराउने लक्ष्य लिएकोमा हालसम्म १ सय ५० जना विद्यार्थी भर्ना भएका छन । गत शैक्षिक सत्रमा ५ सय १७ जना विद्यार्थी रहेका थिए । नयाँ विद्यार्थीलाई ग्रेडसिटका आधारमा भर्ना लिने गरेको दहालले जानकारी दिनुभयो ।