हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकासका नाममा राजनीतिकरण नहुने बताउनुभएको छ । शनिबार गौरीटार अन्तर्राष्ट्रिय रंगशाला परिसरमा स्विमिङ पुल र क्रिकेट रंगशाला शिलान्यास गर्न पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।
नेपाल एकात्मक राज्य व्यवस्थाको शासन प्रणालीमा धेरै वर्ष चलेको बताउँदै एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर मुलुक संघीय शासन प्रणालीमा गएपश्चात् सिंहदरबारमा रहेको अधिकार, विकास, बजेट प्रदेश सरकारमा आएको जानकारी दिनुभयो । संघीयताले के ल्यायो भन्नेले विकासका काम हेर्नुपर्ने उहाँको जिकिर थियो ।
संघीयता विकासको लागि आएको बताउँदै विकासमा क्रान्ति भएको उहाँको दावी छ । संघीयतापश्चात् स्थानीय सरकारले वडावडामा विकास पु¥याउन सकेको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘हिजोको दिनमा विकासको नाममा अर्बौको डीपीआर हुने तर पैसा २ करोड हाल्ने, राजनीति फाइदाको निमित्त शिलान्यास गर्ने तर काम नहुनाले जनताले विश्वास गर्न छाडेका छन् । अहिले विकासको काममा बजेट विनियोजन गरेर कार्य अगाडि बढाएका छौँ, विकासमा कुनै शंका छैन । रंगशाला निर्माण रोकिँदैन काम हुन्छ ।’
प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएर समृद्धिका लागि लगानी गरेको उहाँको भनाइ छ । खेलकुदको संरचना निर्माण गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी खेल क्षेत्रमा विकासमा लागि परेका छौँ । गौरीटार अन्तर्राष्ट्रिय रंगशालामा स्विमिङ पुल र क्रिकेट रंगशाला शिलान्यास भएको छ । चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानीमा निर्माण गर्ने सम्झौता भएको छ । सिन्धुलीमा राष्ट्रियस्तरमा रंगशाला निर्माण भएको छ ।’
प्रदेश सरकारले खेल क्षेत्रमा आवश्यक संरचना निर्माण गरेसँगै खेलाडी उत्पादन, खेल क्षेत्रमा नै आत्मनिर्भर हुने माध्यमको सिर्जना हुनुपर्ने उहाँको भनाइ छ । खेल क्षेत्र महत्वपूर्ण माध्यम भएकाले खेल क्षेत्रले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यम भएको उहाँले बताउनुभयो । खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाउन सकिने वातावरण सिर्जना गर्न आवश्यक रहेकाले खेल क्षेत्रमा व्यावसायीकरण गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
निर्माणको ठेक्का पाएको कम्पनीलाई उहाँले निर्माण कार्य समयमा नै सम्पन्न गर्न निर्देशनसमेत दिनुभएको छ । प्रदेश सरकारले समयमा नै भुक्तानी गर्ने बताउँदै समयमा नै काम गर्न निर्देशन दिनुभएको हो । सरकरको महत्वलाई बुझेर काम गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।