हेटौंडाः हेटौंडा–१९, नेवारपानीस्थित सहरी स्वास्थ्य केन्द्रको आयोजनामा शुक्रबार भएको वृहत् स्वास्थ्य शिविरमा २ सय ८९ जनाले सेवा लिएका छन् । १९ नम्बर वडा कार्यालयको आयोजना तथा कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुरको सहयोगमा शिविर भएको वडा सचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
शिविरमा दन्तरोगमा २२ जना, स्त्री तथा प्रसुतिमा २३ जना, जनरल फिजिसियनमा १४२जना, बालरोगमा २१ जना र अर्थोपेडिकमा ८१ जनाले सेवा लिएका छन् । १५ जना बिरामीलाई उपचारका लागि मेडिकल कलेजमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा २२ जनाको मेडिकल टिमले सेवा प्रदान गरेको थियो ।
कार्यक्रमको समापनमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले मेडिकल टिमलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभाध्यक्षता १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीको रहेको वडा सचिव पोखरेलले जानकारी दिनुभयो ।