हेटौंडाः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनमा निःशुल्क आँखा शिविर भएको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीले शिविरको उद्घाटन गर्नुभयो ।
शिविरमा ६० जना विद्यार्थीको आँखामा समस्या देखापरेको विद्यालयका शिक्षक सुन्दर लुईंटेलले जानकारी दिनुभयो । कक्षा ४ देखि १० सम्मका ४ सय ९६ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएकोमा ६० जना विद्यार्थीको आँखामा समस्या देखापरेको उहाँले बताउनुभयो । समस्या देखिएकाहरुलाई हेटौंडा आँखा अस्पतालमा निःशुल्क थप परीक्षण हुने उहाँले बताउनुभयो । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मी कृष्ण ढुङ्गाना, रमा महत, सलिना लामा र इन्द्रिका चौधरीलगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे विद्यालयका सहायक प्रधानाध्यापक केदारनाथ न्यौपानले जानकारी गराउनुभयो ।
यसअघि विद्यालयले पहिलो चरणमा नर्सरीदेखि कक्षा ३ सम्मका ३ सय ३ जनाको आँखा परीक्षण गरेको थियो । जसमा २७ जना विद्यार्थीहरुमा आँखाको समस्या देखिएको थियो । कक्षा १० सम्म पाठनपाठन हुने विद्यालयमा ९ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।