हेटौंडाः आगामी जेठ ३ गतेदेखि हेटौंडा कला महोत्सव हुने भएको छ । सर्टेड प्लेनएयरको आयोजना तथा नेपाल कला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जेठ ३ गतेदेखि ५ गतेसम्म हेटौंडा कला महोत्सव हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले महोत्सवबारे जानकारी दिएको छ । महोत्सवमा हेटौंडा उपमहानगरको प्रमुख सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको चित्रकला प्रदर्शनी गरिने भएको छ । चित्रकलाका माध्यमबाट सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको दिगो संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवको रहेको आयोजकले जानकारी दिएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडालाई कलानगरको रुपमा स्थापित गर्ने र हेटौंडामा कला विकासका पूर्वाधार निर्माणका लागि स्थानीय एवम् प्रदेश सरकारलाई अभिप्रेरित गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बताइएको छ । महोत्सबाट उठेको रकमको ५० प्रतिशत मानवसेवा आश्रममा सहयोग गर्ने आयोजक कमिटीका संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो ।

हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा चित्रकला प्रदर्शनी, मकवानपुरको मकवानपुरगढी र हर्नामाडीको गुम्बाडाँडा भ्रमण र हेटौंडा–११ स्थित थानाभर्याङमा र भूटनदेवी मन्दिरमा खुला चित्रकला कार्यशाला कला संवाद हुनेछ । बागमती प्रदेशको कला प्रबर्द्धनमा हेटौंडा नगरको भूमिकासम्बन्धी छलफल र लोक संस्कृति झल्काउने झाँकी तथा नृत्यकलाको पनि प्रस्तुति गरिने संयोजक प्रधानले बताउनुभयो ।

कला, साहित्य एवम् अन्य मनोरञ्जनका कुराहरुमा रुचि राख्ने व्यक्तिहरुलाई लक्षित गरेर आयोजना गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवको चित्रकला प्रदर्शनीमा करिब २ हजार र कार्यशालामा ३ हजार गरी ५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवमा ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।