स्वनिर्मित प्राकृतिक विविधताका क्षेत्रमा मानिसले आफ्नो अनुकुल गर्ने परिवर्तन र परिष्कारको कामलाई भौतिक विकास भन्न सकिन्छ । यस कार्यमा भौतिक विचार र वस्तुहरुको प्रयोग गरिन्छ । भौतिक विकासले सहरको समग्र विकासमा आधारको काम गर्दछ । यसले शहरमा सुविधा र सुन्दरताको विकास हुन्छ । हेटौँडा शहरको भौतिक विकासका क्षेत्रमा गर्नुपर्ने अनेक काम छन् ।
१) यातायातको विकासः यस शहरमा हवाई सेवाको व्यवस्था गर्नुपर्ने देखिन्छ । शहर वरिपरि घुमाएर बनाइएको पिचबाटोलाई रिङरोड भन्दछन् । कुनै पनि रिङ जस्तै घुमेको हुनाले यस्तो बाटोलाई रिङरोड भनिएको हो । यस शहरमा रिङरोड बनाउनु पर्दछ । नदि, खहरे, खोल्सामाथिको बाटोलाई पुल भन्दछन् । यो रोड बनाउनु पर्ने कतिपय स्थानका खहरे र खोल्साहरुमा पुलेसाहरु बनाउनु पर्ने हुन्छ । बस्तीपुर–पदमपोखरी बीचको राप्तीमाथि पुल बनाउनै पर्दछ । रातोमाटे र फुर्केचौरसम्मको चुरेवस्तीका बीचमा मोटरबाटो बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
२) नहर, ढल र नाला निर्माणः बर्षामा मनकामना पहाडबाट झरेको पानी कर्राखोला र राप्ती नदीमा निकास गराउन पूर्व–पश्चिम लम्बाइको नहर निर्माण गर्नुपर्ने देखिन्छ । यो नहर पहाडको फेदीमा बनाउनु पर्दछ । शहरका विभिन्न रोडका किनाराहरुमा नाला र ढल बनाउनु पर्ने काम बाँकी नै रहेकाले यो शहर भौतिक दृष्टिले व्यवस्थित हुन सकिरहेको छैन । कान्तिराजपथ सधैँ दुई नालाको पर्खाइमा शहरको बीचका सुतिरहेको छ । दक्षिणतिर मकवानपुर रोडमा पनि त्यस्ता नाला बनाउनै पर्दछ ।
३) तटबन्ध र उच्च बाँध निर्माणः नदी, खोला, खहरे, खोल्साहरुका दुई छेउमा पर्खाल लगाएर जमिन बाँध्नुलाई तटबन्ध भन्दछन् । हेटौँडा शहरअन्तर्गतका राप्ती नदी, कर्रा खोला, त्रिवेणीधाममा कर्रा र राप्तीमा मिसिएकी उत्तरबाहिनी सानी गङ्गा र त्यस पूर्वका पाँच खहरेहरु, मनकामना पहाडबाट निस्केर शहरका विभिन्न भाग हुँदै कर्रामा मिसिएका नौ खोल्साहरु सबै तटबन्ध र उचाइमा रहेका देखिन्छन् । जमिन र सौन्दर्यको बचाउ गर्न तिनका तट र बीच–बीचमा उच्चबाँध गर्नुपर्दछ ।
४. पानी ट्याङ्की र ठूलो पाइपलाइन स्थापनाः यस शहरमा खानेपानी समस्या समाधान गर्नुपर्ने आवश्यकता पनि छ । शहरका केही टोल–बस्तीमा कुनै समय खानेपानीको समस्या भइरहेको छ । यो समस्या हटाउन चुरे पहाडका तल्ला भागमा केही पानीट्याङ्की निर्माण गरी पाइपलाइनबाट तिनका पानी वितण गर्नुपर्ने देखिन्छ । महाभारत पहाड जडीबुटीहरुको भण्डार हो । राप्ती नदीको स्रोतका रुपमा रहेको यस पहाडबाट बग्ने यस जडीबुटीको जराको रस समेत मिसिएकोले त्यो पानी औषधीय गुणयुक्त देखिन्छ । सफा र चिसो त्यो पानी उपयोग गरेमा स्वास्थ्य क्षेत्रमा वरदान हुनेछ । उचाइमा पहाड र मैदानमा शहर रहेकाले राप्तीको पानी ठूलो पाइपलाइनबाट ल्याएर शहरमा वितरण गर्न सम्भव पनि छ । हेटौँडाबासीले यो काम गर्न नयाँ सन्तति पर्खनु हुँदैन । त्रिवेणीधाम आइपुग्ने उत्तरवाहिनी सानी गङ्गाको पानी पनि उपयोगमा ल्याउनु पर्दछ ।
५. कुवा र इनारको स्तरोन्नतिः मनकामना पहाडबाट निस्केका पानीका चार कुवाहरु छन् । ती मध्ये एक कुवा मेटिइसकेको छ । बानियाँटोल र मकवानपुर शिव–मन्दिर आसपास पनि एक–एक कुवा छन् । चिसापानी र गर्दैमा एक–एक इनार छन् । ती सबै अव्यवस्थित रहेकाले शहरका बासिन्दाहरु तिनको स्तोन्नतिमा लाग्नु पर्दछ ।
६) सौर्य उर्जाको उपयोगः आधुनिक युग सौर्य उर्जा प्रयोगको युग भएकाले यस शहरका घर–घर र उद्योगहरुमा यसको प्रयोग–प्रविधि विकास गर्नै पर्दछ । यो यस शहरको भौतिक विकासको अर्को मुख्य पाइला हो ।
७) वृक्षरोपण र जङ्लको स्तरोन्नतिः हेटौँडा शहरको आद्योगिक क्षेत्र, फरेष्ट्री क्याम्पस र राप्ती क्षेत्रमा रहेका स्वनिर्मित एवम् मानव निर्मित जङ्गलको अव्यवस्थित प्रयोग भइरहेकाले तिनको स्तरोन्नति गर्न ती भित्रका अनावश्यक लत्ता, झार, बिरुवा र सडे–गलेका बस्तुहरु हटाएर खाली स्थानमा सल्लो, रक्तचन्दन, श्वेतचन्दन, ओखर जस्ता उपयोगी रुख–विरुवाहरु रोपेर यस शहरमा वृक्ष सुन्दरता थप्न सकिन्छ । ती जङ्गलले पनि खुसियाली मनाउलान् । मनकामना र चुरे पहाड तलका सार्वजनिक खाली जमिनमा त्यस्ता उपयोगी विरुवाहरु रोप्नै पर्दछ । नदी, खोला, रोडका किनारा तथा चौताराहरुमा वृक्षरोपण गर्दा यस शहरको भौतिक विकासमा टेवा पुग्दछ । यस शहरको वायुप्रदुषण कम गर्न र सुन्दरता बढाउन प्रत्येक वडामा एक घर एक वृक्ष र बीस फुल रोप्ने कामलाई प्राथमिकता दिनु पर्दछ ।
८) पंक्षी र जनावर पालनः मनकामना र फरेष्ट्री जङ्गल घरेर मयुर, कालिज, वन कुखुरा, तित्रा आदि धेरै नउड्ने चराहरु तथा मृग, खरायो आदि उफ्रेर नभाग्ने जनावर पालेर यस सहरको भौतिक र मूल्य बढाउन सकिन्छ । तिनलाई घरभित्र थुनेर पाल्नु चाहिँ उपयुक्त हुँदैन । नियममा बस्न चाहने सभ्य मानिस जस्ता चरा र जनावर हुँदैनन् । तिनीहरु प्रकृतिमा विचरण गर्न चाहन्छन् ।
९) पार्क र चौतारो निर्माणः यस शहरका प्रत्येक चौबाटो, त्रिबाटो र दोबाटोहरुमा चौतारो र साना–साना पार्क निर्माणको खाँचो छ । हुप्रचौर र पानीखरी निकट खेलमैदान लगायतका सार्वजनिक स्थलहरुमा चौताराहरु बनाउनु पर्दछ । शहरको सुन्दरता र सुविधा पूर्वाधारका रुपमा भौतिक विकासलाई प्राथमिकता दिनै पर्दछ । हेटौँडा शहरले सबै प्रकारका भौतिक विकासको माग गरेको छ । मानिसको सोच, काम गर्ने जागरुक मन–शक्तिको प्रयोग र आर्थिक साधनले नै भौतिक विकास हुन्छ । हेटौँडा शहरका बासिन्दा तात्कालिक र दिर्घकालिक योजनाका साथ यसको विकासमा लाग्नु पर्दछ ।
हेटौँडा–५, समृद्धिटोल