हेटौंडाः हेटौंडा अस्पतालमा चैत महिनामा दाँत रोगसम्बन्धी ६ सय २६ जना बिरामीले उपचार सेवा लिएका छन् । दन्तरोग सम्बन्धी समस्या लिएर दैनिक ३० देखि ५० जना बिरामीहरु आउने गरे विशेषज्ञ दन्त चिकित्सक पदम नेपालीले जानकारी दिनुभयो ।
डा. नेपालीका अनुसार जाडो मौसमभन्दा गर्मी मौसममा दन्तरोग सम्बन्धी बिरामीहरु धेरै आउने गरेका छन् । दन्तरोग उपचारका लागि धेरैजसो बालबालिका र वृद्धवृद्धाहरु आउने गरेका छन् । अस्पतालमा दाँतको सामान्य शल्यक्रियासमेत हुने गरेको छ । गिजा काटेको, ओठमा घाउ भएको, दाँतलाई सामान्य शल्यक्रिया गरी निकाल्नुपर्ने समस्याका बिरामी दैनिकि १० देखि १५ जना आउने गरेको डा. नेपालीले जानकारी दिनुभयो । दाँत सफा गर्न पनि दैनिक एक दुईजना आउने गरेको उहाँले जानकारी दिनुभयो ।
दाँतमा समस्या भएका व्यक्तिले खानपान र दाँतको सफाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दाँत किराले खाएको र दाँत दुःखेको व्यक्तिले धेरै तातो र चिसो खानेकुरा खान नहुने उहाँले बताउनुभयो । चकलेट, केक, जुस तथा गुलियो खानेकुरा कम खाएर बिहान÷बेलुका दुई पटक राम्रोसँग ब्रस गर्न उहाँले सल्लाह दिनुभयो ।
दाँत सफा ग¥यो भने दाँत कमजोर हुन्छ भन्ने धेरै मानिसमा भ्रम रहेको डा. नेपालीको भनाइ छ । दाँत सफा नगर्दा दाँतमा फोहोर जमेर बस्यो भने गिजा तल सर्ने, गिजा पाक्ने, हड्डी खिइनेजस्ता समस्या देखिने भएकाले समय–समयमा दात जाँच र सफा गर्नुपर्ने उहाँ बताउनु हुन्छ ।