गुगल फोटो ।

हेटौंडाः अहिले गर्मी मौसम बढिरहेको छ । वनजंगलमा रहेका रुखको पात सुकेर खस्ने तथा नयाँ पालुवा पलाउने समय भएको छ । जमिनमा रहेको घाँस, साना बोट बिरुवा पनि पानीको अभावले सुक्दै गएको छ । वनजंगलमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ ।

मकवानपुरमा चैत मसान्तसम्म ४ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लामा जम्मा २ लाख ४४ हजार ३ सय ३६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ६६ हजार ५ सय ३३ हेक्टर वन क्षेत्रले ओगटेको छ । जिल्लामा डिभिजन वन कार्यालय, मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरी गरी २ वटा डिभिजन वन कार्यालय रहेकोमा ८÷८ वटा सब डिभिजन गरी १६ वटा सब डिभिजन वन कार्यालय रहको छ । जिल्लामा ठूलो हिस्सा वनले ओगटेको छ । वनमा अहिले अनियन्त्रितरुपमा डढेलो फैलिँदै गएको छ ।

सुख्खायाममा वनमा मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर मानिसले आगो लगाउँदा अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । सुरुमा सानो रूप लिने आगोले ठूलो क्षति पु¥याउँदछ । मानवीय त्रुटिको कारणले गर्दा वनजंगलमा अधिकांश डढेलो लागेको छ । वनमा लागेको डढेलोले जिल्लामा मानवीय क्षति भएको छैन तर मानिसको घर, गोठ, पशुचौपायसँगै करोडौँको धनसम्पत्तिमा क्षति पुगेको छ । मकवानपुरमा वनमा डढेलो लगाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान समेत भइरहेको छ ।

जिल्लामा भौगोलिकरुपले विकटता पहाडी क्षेत्र भएकाले वनमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या पर्ने गरेको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत राकेश चन्द्रवंशीले बताउनुभयो । वन अधिकृत चन्द्रवंशीका अनुसार वन अहिले धेरै सुख्खा भएको छ । वनमा रहेका साना बोटबिरुवा, पातपतिंगर, काठ दाउरा सुकेको छ, जसले आगोको सानो झिल्काले समेत धेरै क्षति हुने गरेको छ । अधिकृत चन्द्रवंशीले भन्नुभयो, ‘जिल्लाका अधिकांश वनमा आगो लागेको छ, हामीले डढेलो नियन्त्रणमा लिने कार्य गरिरहेका छौँ, हामीले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, वनरक्षक र स्थानीयको सहयोगमा डढेलो नियन्त्रणमा लिने कार्य भइरहेको छ । हाम्रो उद्देश्य भनेको डढेलो लाग्नै नदिनु हो, डढेलो लागि हालेमा नियन्त्रणमा लिन सकिँदैन, जसले वनमा ठूलो क्षति हुने गरेको छ ।’

वनमा डढेलो लागेमा मानिसमा वनका कर्मचारीले नै निभाउनुपर्ने भन्ने सोचले गर्दासमेत समस्या आउने गरेको बताउँदै सब डिभिजनमा पर्याप्त मात्रामा कर्मचारी, इक्युपमेन्ट, स्रोत साधनको अभाव रहेको चन्द्रवंशीले जानकारी गराउनुभयो । वनमा डढेलो लाग्न नदिन उपभोक्ताहरूलाई जनचेतना जगाउने, स्थानीयलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गर्ने, विभिन्न सञ्चार माध्यमबाट वन डढेलोसम्बन्धी सचेतनामूलक सूचना प्रवाहको कार्य गरिरहेको उहाँले बताउनुभयो । वनमा डढेलो लाग्नु पहिले नै वन डिभिजनका कर्मचारीहरुले अग्निरेखा बनाउने, डढेलोको सम्भावित स्थानहरुमा नियन्त्रित डढेलो लगाउने कार्य गर्दै आएका छन् । वन डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको छ ।