पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारी ।

हेटौँडाः भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले ११ विधामा पुरस्कार घोषणा गरेको छ । हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गरेर प्रतिष्ठानले ४ वटा नयाँ र ७ वटा नियमिततर्फ पुरस्कार घोषणा गरेको हो । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले साहित्य, संगीत, कला र पत्रकारितातर्फ ४ वटा नयाँ पुरस्कार घोषणा गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, संगीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बीएस राना र पत्रकारितातर्फ ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभएको छ । ४ जनालाई जनही २५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने उहाँले बताउनुभएको छ ।

यस्तै प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट मञ्जु खराललाई, ७ हजार ५ सय राशिको भीम–मथुरा बाल प्रतिभा पुरस्कार ईशान्तकुमार मिश्रलाई, १५ हजार राशिको शिला नारी पुरस्कार निरु मगरलाई, २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरिने भएको छ । यस्तै १५ हजार राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार आरआर चौलागाईलाई, १० हजार राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्रलाई र १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिने भएको छ । मिश्र मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ भने धिताल बारा जिल्लामा शिक्षकको रुपमा कार्यरत दृष्टिविहिन हुनुहुन्छ ।

आगामी शनिबार हेटौँडामा एक समारोहका बीच पुरस्कार वितरण गरिनेछ । संगीत, साहित्य, कला, पत्रकारिताको क्षेत्रमा योगदान दिनुभएका भीम विरागको स्मृतिमा गठन भएको प्रतिष्ठानले संगीत, साहित्य, कला र पत्रकारिता क्षेत्रमै क्रियाशील व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरी उनीहरुलाई प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष ह्यग्रीव आचार्य, उपाध्यक्ष श्यामकुमार बानियाँको पनि उपस्थिति रहेको थियो ।