हेटौंडाः मकवानपुरमा सञ्चालनमा रहेका एम्बुलेन्सहरू अनुमति नवीकरण गर्न नआएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ११ र १४ मा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोहीअन्तर्गत् मकवानपुरमा सञ्चालनमा रहेका एम्बुलेन्स सञ्चालकहरूले सञ्चालन अनुमति एवम् नवीकरण नगरिकन एम्बुलेन्स सञ्चालन गरेको बुझिएको कार्यालयले जनाएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति मकवानपुरको २०८० मंसिर २० गतेको बैठकको निर्णय अनुसार पुस १७ गते एक सूचना जारी गर्दै एम्बुलेन्स नवीकरण गराउन आग्रह गरेको थियो ।
जिल्लाभित्र सञ्चालित एम्बुलेन्सहरूले ६० दिनभित्र निर्देशिकाबमोजिम मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्जाल (१०२) मा आबद्ध हुनसमेत सबै एम्बुलेन्स सञ्चालकलाई कार्यालयले जानकारी गराएको थियो । सूचना प्रकाशित भएको अवधिमा सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १७ बमोजिम कारबाही हुनेसमेत कार्यालयले जानकारी गराएको थियो ।
तर, मकवानपुरमा भने एकमात्र एम्बुलेन्सले सूचना जारी भएपश्चात् नवीकरणका लागि आएको कार्यालयले जनाएको छ । देशभर सञ्चालित एम्बुलेन्सहरुलाई प्रेषण केन्द्रमार्फत् एकीकृतरूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । एम्बुलेन्समा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त आकस्मिक स्वास्थ्य सेवासम्बन्धी तालिमप्राप्त चालक र स्वास्थ्यकर्मी हुनुपर्नेछ । एम्बुलेन्समा आवश्यक उपकरण र औषधी अनुसूची ४ मा तोकिए बमोजिमको हुनुपर्नेछ ।
मकवानपुरमा क, ख र ग वर्गका गरी ५० वटा एम्बुलेन्स सञ्चालनमा रहेको बताइएको छ । जिल्लामा क वर्गको एम्बुलेन्स एउटा, ख वर्गको एम्बुलेन्स १३ वटा र ग वर्गको ३६ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । जिल्लामा रहेका एम्बुलेन्सलाई एकीकृत गरी सबै एम्बुलेन्सलाई सरकारी संस्थाअन्तर्गत् आवद्ध गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण गर्न आग्रह गरेको हो ।