प्राणप्रतिष्ठापछि पुजा गर्दै भक्तजन ।

हेटौँडाः हेटौँडा–२ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा विभिन्न भगवानका मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । हेटौँडा–२ निवासी सेवानिवृत्त शिक्षक रामचन्द्र आचार्य ‘फुर्सती’ परिवारले कालभैरवको पाषाण मूर्ति स्थापना गरेका गर्नुभएको थियो ।

२ फिट अग्लो मूर्तिको मंगलबार र बुधबार दुई दिन वैदिक विधिबाट प्राणप्रतिष्ठा गरिएको हो । त्यस्तै हेटौँडा–२ निवासी महेश्वरमान श्रेष्ठको परिवारले शिवलिङ्ग, नन्दि र गणेश भगवानको मूर्ति स्थापना गरेको छ । हेटौँडा–२ निवासी भोला अर्यालको परिवारले शेषनागको मूर्ति स्थापना गरेको छ । सबै मूर्तिको वैदिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको हो ।

मूर्तिको जलाधिवासदेखि शैयाधिवाससम्मका विधि पूरा गरी प्राणप्रतिष्ठा गरिएको थियो । सो अवसरमा होमयज्ञ, रुद्रीपाठ, चण्डिपाठ, गणेशस्तोत्र, शिवस्तोत्र, भैरवस्तोत्र, नागस्तोत्रको पाठपारयण गरी बुधबारबाट मूर्तिमा सर्वसाधारणका लागि पूजाआजा खुला गरिएको हो । पण्डित रामचन्द्र आचार्य, बासुदेव आचार्य, कपिल लामिछाने, अभ्युदय खनाल, डुकराज पौडेलले धार्मिक बिधिअनुसार मूर्तिको प्राणप्रतिष्ठाको सहजीकरण गरेका थिए ।

कार्यक्रममा हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, नेपाली कांग्रेसका जिल्ला सचिव ईश्वर पाठक, जलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष मुरारी सुवेदी, वडासदस्य ईन्द्रप्रसाद रिजाल, टोल विकास समितिका पदाधिकारीलगायत सहभागी थिए ।