फाइल तस्वीर ।

हेटौंडाः भोलि शुक्रबारबाट सुरु हुने कक्षा १२ को वार्षिक परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार ६ सय ९० जना विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ५ हजार ५ सय ८७ जनाले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका अधिकृत जयप्रकाशप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

मकवानपुरमा कक्षा १२ सम्म अध्यापन हुने ५३ वटा विद्यालय रहेका छन् । जिल्लामा यस वर्ष १९ वटा परीक्षा केन्द्र तोकिएको छ । २०७८ र २०७९ सालमा नियमित परीक्षा दिएर यस वर्ष ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थी एक हजार ९ सय ६२ जना रहेको उहाँले बताउनुभयो । यस्तै, २०७६ र २०७७ सालबाट परीक्षा दिन थालेका एक सय ४१ जना र कक्षा ११ मा आंशिकतर्फबाट १४ जना परीक्षार्थीले परीक्षा दिने कुशवाहले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड, हेटौंडाको कार्यक्षेत्र बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरमा गरी ३५ हजार ३ सय ७५ जना परीक्षार्थीले कक्षा १२ को नियमित परीक्षा दिनेछन् । ५ जिल्लामा १ सय ४३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । बाराबाट नियमिततर्फ ४ हजार ६ सय ४९ जना र आंशिकतर्फ २०७८–२०७९ बाट २ हजार २ सय ६४ जना, २०७६–२०७७ बाट ३० जना गरी ६ हजार ९ सय ४३ जनाले परीक्षा दिने छन् । बारा जिल्लामा ७३ वटा विद्यालय रहेकोमा २३ परीक्षा केन्द्र तोकिएको छ । यस्तै, रौहटबाट नियमिततर्फ ६ हजार ५ सय ५५ जना, आंशिकतर्फ २०७८–७९ बाट ७ सय ७० जना, २०७६–७७ बाट ७२ जना गरी ७ हजार ३ सय ९७ जनाले परीक्षा दिनेछन् । ६९ वटा विद्यालय रहेकोमा २७ वटा परीक्षा केन्द्र तोकिएको छ ।

पर्साबाट नियमिततर्फ ६ हजार ७ सय २३ जना, आंशिकतर्फ २०७८–७९ बाट २ हजार ४ सय ९० जना, २०७६–७७ बाट ३३ जना गरी ९ हजार २ सय ४६ जनाले परीक्षा दिनेछन् । ९८ वटा विद्यालय रहेकोमा २० वटा परीक्षा केन्द्र तोकिएको छ । यस्तै, चितवनबाट नियमिततर्फ ११ हजार ८ सय ६१ जना, आंशिकतर्फ २०७८–७९ बाट ३ हजार ४ सय १६ जना, २०७६–७७ बाट ९२ जना गरी १५ हजार ३ सय ६९ जनाले परीक्षा दिनेछन् । चितवनमा १ सय २९ वटा विद्यालय रहेकोमा ४६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यसवर्ष राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाको कार्यक्षेत्रभित्र रहेका ५ वटा जिल्लाबाट ४६ हजार ६ सय ४५ जना विद्यार्थीले परीक्षा दिनेछन् । नियमिततर्फ ३५ हजार ३ सय ७५ जना, २०७८–७९ आंशिकतर्फ १० हजार ९ सय २ जना, २०७६–७७ आंशिकतर्फ ३ सय ६८ जना विद्यार्थीले परीक्षा दिनेछन् । ती जिल्लामा यसवर्ष १ सय ४३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षाको तयारीस्वरुप बोर्डले ५ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।