बैठक समिक्षाका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडामा मोमेटम प्राइभेट हेल्थ केयर डेलिभरीको पालिकास्तरीय समीक्षा कार्यक्रम भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा प्राइभेट हेल्थ केयरले पालिकास्तरीय समीक्षासँगै दोस्रो त्रैमासिक बैठक गरेको हो ।

कार्यक्रममा सेवाग्राही–केन्द्रित, गुणस्तरीय परिवार योजना सेवालाई दिगो रुपमा उपलब्धता गराउनका लागि परियोजनाले काम गरिरहेको कार्यक्रम संयोजक सुदर्शन दहालले जानकारी दिनुभयो । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु र फार्मेसीहरुको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नका लागि सहायता प्रदान गर्न प्राइभेट हेल्थ केयर डेलिभरी नेपालले जोड दिएको उहाँले बताउनुभएको छ ।

प्राइभेट हेल्थ केयर डेलिभरी परियोजना कार्यक्रमअन्तर्गत् प्रशिक्षण, अभिमुखीकरणमार्फत् क्षमता सुदृढीकरण, मासिक अनुगमन, अर्धबार्षिक अनुगमन र समीक्षा कार्यक्रहरु गरेको संयोजक दहालले बताउनुभयो । वार्षिक कार्यक्रमअन्तर्गत् निजी संस्थाहरुको पहिचान, छनोट, त्रिपक्षीय समीक्षा, सेवाप्रदायकहरुका लागि किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम, सेवाप्रदायकहरुका लागि संगिनीको आधारभूत तालिम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

संस्थाका सञ्चालकहरुका लागि व्यावसायिक सिप तालिम र स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सम्पन्न भएको बताउनुभयो । पालिकाहरुसँगको त्रैमासिक बैठक, मासिक गुणस्तर सुधार बैठक र पालिकाहरुको अनुगमन कार्यक्रम भइरहेको उहाँले बताउनुभयो ।

निजी स्वास्थ्यकर्मीको निरन्तर क्षमता अभिवृद्घि गर्दा गुणस्तरीय सेवाप्रवाहका साथै एकद्वार प्रणालीमार्फत् रेकर्डिङ र रिपोर्टिङ कार्य सम्भव हुने उहाँको भनाइ छ । निजी र सरकारी क्षेत्र दुबै एक–आपसमा सहकार्य गरी किशाोरकिशोरीहरुलाई प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाबारे सचेतना प्रदान गर्न सकिने उहाँले जानकारी गराउनुभएको छ । उमेर वा वैवाहिक स्थितिको आधारमा कुनै पनि पूर्वाग्रह नराखी सबैलाई समान व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

परिवार योजनाको गुणस्तर सुधारका लागि सेवाग्राहीलाई परिवार योजनाको कुनै पनि साधन प्रयोग गर्न करकाप गर्न नहुने उहाँको भनाइ छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड)को आर्थिक सहयोगमा स्वास्थ्य मन्त्रालयअन्तर्गत् प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, गाउँपालिका, नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयहरुसँग साझेदारी गरेको छ ।