अभिमुखीकरण कार्यक्रममा सहभागी अभिभावकहरु ।

हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को पहिलो दिन अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको सूचना बमोजिम आइतबारदेखि नयाँ शैक्षिक सत्र २०८१ को नियमित पठनपाठन सुरुवातसँगै पहिलो दिन महेन्द्र माविले अभिभावकलाई अभिमुखीकरण गरेको हो ।

पठनपाठन सुरु गरेकै दिन अभिभावकलाई बोलाएर अघिल्लो शैक्षिक सत्र २०८० को असल अभ्यासका बारेमा जानकारी गराइएको प्रधानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले गरेको असल अभ्यास, अतिरिक्त क्रियाकलापको विषयमा जानकारी गराएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, “अघिल्लो शैक्षिक सत्रको क्रियाकलापका विषयमा हरेक महिना भएका क्रियाकलापको फोटो र समग्रमा भिडियो नै प्रस्तुत गर्यौं । विद्यालयमा भएका सकारात्मक सुधारका विषयमा जानकारी गरायौं । अभिभावकहरु सकारात्मक परिवर्तन देखेर खुसी हुनुभएको छ ।”

राम्रो विद्यालय बनाउनका लागि शिक्षक, विद्यार्थी, अभिभावकका जिम्मेवारीका विषयमा पनि जानकारी गराइएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । अभिमुखीकरण र भिडियो तथा अन्य विवरण प्रस्तुतीपछि अभिभावकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँले जानकारी दिनुभयो । पहिलो दिन नै अभिभावकलाई विद्यालयको अवस्थाका बारेमा बुझाउँदा, अभिभावकको भूमिकाका बारेमा जानकारी गराउँदा शैक्षिक सत्रको पूरा अवधि अभिभावकको साथ र सहयोग प्राप्त हुने र शैक्षिक क्रियाकलाप, सुधारमा सहयोग पुग्ने अपेक्षा प्रधानाध्यापक श्रेष्ठको रहेको छ ।

शैक्षित्र सत्र २०८० मा ८९२ जना विद्यार्थीले वार्षिक परीक्षा दिएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक श्रेष्ठले चालु शैक्षिक सत्र २०८१ मा कुल विद्यार्थी संख्या १ हजार २ सय पुर्याउने लक्ष्य रहेको बताउनुभयो । सोमबारसम्म १ सय ५० जना नयाँ विद्यार्थी भर्ना भइसकेको जानकारी दिनुहुँदै यो वर्ष ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने योजना प्रस्तुत गर्नुभयो । शैक्षिक सत्र २०८० मा करिब १० प्रतिशत विद्यार्थीले बीचमै विद्यालय छाडेको उल्लेख गर्नुहुँदै चालु शैक्षिक सत्रमा बीचमै विद्यालय छाड्ने दर न्यून गर्न पनि अभिभावकसँग छलफल भएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभएको छ ।