निवृत्त शिक्षक समाजको नयाँ कार्य समितिहरु ।

हेटौँडाः नेपाल निवृत्त शिक्षक समाजको जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सीताराम दहाल चयन हुनुभएको छ । सोमबार हेटौंडामा भएको समाजको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले दहालको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको महिला उपाध्यक्षमा सुभद्रा लामिछाने र पुरुष उपाध्यक्षमा ओम चौलागाईं चयन भएका छन् । सचिवमा पिताम्बर बास्तोला, सहसचिवमा शम्भुप्रसाद हुमागाईं, कोषाध्यक्षमा सरोजकुमार श्रेष्ठ, र सहकोषाध्यक्षमा राजेन्द्र चिमरिया चयन भएका छन् । यस्तै, केन्द्रीय प्रतिनिधिमा शिवदयाल यादव र अर्जुन पोखरेल चयन भएका छन् । लेखा समितिमा सीताराम दहाल र शिव लामिछाने रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुनेछ ।

समाजका निवर्तमान अध्यक्ष शिवदयाल यादवको सभाध्यक्षमा तथा निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्यालको प्रमुख आतिथ्यमा वार्षिक सधारणसभा तथा अधिवेशको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष शर्माले पुस्तक विमोचन गर्ने क्रममा शिक्षकहरुले आन्दोलन गरेको कारणले भर्चुअल माध्यमबाट बैठक बसेर विमोचन कार्यक्रमलाई स्थगित गरेको बताउनुभएको छ ।

नेपालको ७७ वटा जिल्ला र ७ प्रदेशमा निवृत्त शिक्षक समाजको समिति बनाउनका लागि आन्दोलन गर्ने योजना रहेको केन्द्रीय सदस्य अर्यालले बताउनुभयो । केन्द्रीय समितिको विधानअनुसार ५२ जिल्लामा क्रियाशील भएका जिल्लाका अध्यक्ष, सचिव, पर्यवेक्षक, अतिथि तथा केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा चैत ३ गते सम्पन्न पाँचौं राष्ट्रिय परिषद्का सुझावहरुलाई नीतिगत व्यवस्थाका लागि शिक्षा विधेयकमा समावेश गराउन मागपत्र पेश गरेको उहाँले बताउनुभयो ।

सेवा निवृत्त शिक्षकहरुलाई औषधी उपचारमा सहुलियत दिनुपर्ने माग गरिएको छ । सेवा निवृत्त निजामति कर्मचारीका लागि निजामति अस्पताल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुका त्रि.वि. शिक्षण अस्पताल भएजस्तै शिक्षकको अस्पताल बनाउन आवश्यक रहेको बताइएको छ । सरकारी स्रोतबाट तलब भत्ता खाने निजामति, सैनिक, प्रहरी, प्राध्यापक तथा न्यायिक सेवामा कार्यरतहरुको सेवा अवधि ५८, ६०, ६३ र ६५ तोकिएको बताउनहुँदै २० वर्षदेखि ४० वर्षसम्मको अनुभव लिएको आधारमा निवृत्तपश्चात् सरकारले आफ्नो नीति कार्यक्रमको उद्देश्य प्राप्त गर्न विभिन्न आयोग, समिति, कार्यदल, अनुसन्धानमूलक कार्य आदिमा विज्ञका रुपमा प्रयोग गर्न माग गरिएको छ ।

शिक्षकहरुको क्षमता, योग्यताको आधारमा विद्यालयको पाठ्यक्रम निर्माण तथा परिमार्जन, शैक्षिक गुणस्तर निर्धारण, शैक्षिक अनुसन्धानको साथै संघीय, प्रदेश, जिल्ला तथा पालिकाहरुमा गरिने शैक्षिक अभिबृद्धिका कार्यक्रमहरुमा नीतिगतरुपमा सहभागिता गराउने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

वंशगोपाल माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रमेशप्रसाद लामिछानेले शिक्षकहरु सेवा निवृत्त भए तापनि नयाँ कुराको खोज र अध्ययन गर्नुपर्ने काममा लाग्नुपर्ने बताउनुभएको छ । सरकारले रोजगारी दिन नसकेको कारणले युवाहरु विदेशिने क्रम बढ्दै गएको लामिछाने बताउनुभयो । शिक्षा ऐनमै सेवा निवृत्त भएका शिक्षकहरुको उचित अवसर दिन आवश्यक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा साहित्यकार जनार्दन खनाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष चुडामणि देवकोटा, केन्द्रीय सचिव अभिमन्यु गौतम र मकवानपुर जिल्लाका सदस्य खड्कबहादुर पुलामीको विशिष्ठ आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयहरुबाट सेवानिवृत्त शिक्षकहरुको उपस्थिति रहेको थियो ।