सम्मान तथा पुरस्कार बारे जानकारी दिनुहुँदै आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा ।

हेटौँडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरले ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । आँचलले स्थापना गरेको पुरस्कारमध्ये २०८० सालमा छनोट समिति गठन गरेर समितिले छनोट गरेका ९ जना स्रष्टालाई सम्मान गर्न लागेको हो ।

सोमबार हेटौँडा–४ स्थित सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरको संयुक्त सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी शनिबार हुने वृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा ९ वटा विधामा स्रष्टालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहट जिल्लाकी रेणुका जीसीलाई सम्मान गर्न लागेको अध्यक्ष सापकोटाले बताउनुभयो । हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गर्नुभएको उक्त सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।

प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोट जिल्लाकी सुमित्रा सुमीलाई सम्मान गरिने भएको छ । मुना अर्यालले स्थापना गर्नुभएको छन्द सम्मानबाट नुवाकोटकी सुमीलाई १० हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिनेछ । ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सरिता दहाललाई सम्मान गरिने भएको छ । अप्सरा तिमल्सिना लम्साल र प्रकाश लम्सालले स्थापना गर्नुभएको इश्वर लम्साल स्मृति सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, टीकादत्त मायादेवी कुलकुमारी साहित्य सम्मान २०८० बाट काठमाडौं महानगरपालिकाकी प्रभा बराललाई सम्मान गरिने भएको छ । रुकु कार्कीले स्थापना गर्नुभएको कुलकुमारी सम्मान २०८० बाट बराललाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशि र सम्मापत्र प्रदान गरिने जनाइएको छ । अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मान २०८० बाट काठमाडौं महानगरपालिकाका नेत्र एटमलाई सम्मान गरिने भएको छ । गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गर्नुभएको अप्सरा स्मृति सम्मानको राशि १५ हजार एक रुपैयाँ रहेको छ ।

मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मान २०८० बाट मकवानपुरकी प्रसिद्धि लामिछानेलाई सम्मान गरिने भएको छ । देवप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको मंगलादेवी साहित्य सम्मानबाट लामिछानेलाई ३ हजार ५ सय रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मान गरिने जनाइएको छ । यस्तै, मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिनेछ । मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नुभएको सम्मानबाट बानियाँलाई ५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिनेछ ।

सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० बाट मकवानपुरका साहित्यकार दीपक गौतमलाई सम्मान गरिनेछ । चन्द्रकिरण श्रेष्ठ र मेनुका श्रेष्ठले स्थापना गर्नुभएको सुन्तलीमाया स्मृति सम्मानबाट साहित्यकार गौतमलाई १० हजार रुपैयाँ नगर राशि र सम्मापत्र प्रदान गरिनेछ । यस्तै, आँचल साहित्य कला पुञ्जले स्थापना गरेको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिनेछ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने लागेको कार्यक्रममा स्रष्टा सम्मानसँगै बहस, एकल गायन प्रतियोगिता र रचन वाचन पनि हुने जनाइएको छ ।