गाउँपालिकाका उपाध्यक्ष भक्त खत्रीलाई मागपत्र बुझाउँदै ।

हेटौँडाः नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले निःशुल्क शिक्षा उपलब्ध गराउन माग गर्दै बकैया गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । सोमबार बकैया गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई नेपाल उत्पीडित मुक्ति समाज मकवानपुरका उपाध्यक्ष पदम विकको नेतृत्वमा जिल्ला कमिटी र गाउँपालिका कमिटीले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो ।

नेपालको संविधान २०७२ को धारा ४० को उपधारा २ बमोजिम दलितका लागि निःशुल्क शिक्षा दिने व्यवस्था भएको तर कार्यान्वयन नभएको भन्दै गाउँपालिकाले कार्यान्वयन गर्न माग गरिएको हो । संगठनको केन्द्रीय निर्देशनअनुसार बकैया गाउँपालिकाबाट ज्ञापनपत्र बुझाउन थालिएको र अन्य पालिकामा पनि निःशुल्क शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउने उपाध्यक्ष विकले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाएपश्चात् गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षबाट सकारात्मक प्रतिक्रिया आएको विकको भनाइ छ ।