शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलाई पत्र बुझाउँदै अनेरास्ववियु मकवानपुरका अध्यक्ष अमृत बर्तौला ।

हेटौँडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटीले जिल्लाभित्रका नीजि तथा सरकारी विद्यालयले लिने शुल्कको विवरण माग गरेको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखालाई पत्र बुझाउँदै संगठनले जिल्लाभित्रका विद्यालयले लिने शुल्कको विवरण उपलब्ध गराउन माग गरेको हो ।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष अमृत बर्तौला र सचिव रामचन्द्र भोलनसहितको टोलीले समन्वय इकाईका प्रमुख दीनानाथ गौतम र हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइराला समक्ष पत्र बुझाउँदै उक्त विवरण उपलब्ध गराउन माग गरेको हो । विद्यालयले लिने भर्ना, मासिक शुल्क तथा अन्य शुल्कसमेतको विवरण छिटो उपलब्ध गराउन माग गरेकोमा केही दिनभित्र आफुहरुलाई उक्त विवरण प्राप्त हुने आश्वासन दिएको सचिव भोलनले बताउनुभयो ।

उहाँले एक–दुईभित्र उक्त विवरण उपलब्ध नभए फेरी संगठनले कदम चाल्ने बताउनुभयो । पछिल्लो समय जिल्लाभित्रका केही विद्यालयमा विद्यार्थीहरुलाई विभिन्न शिर्षकमा रकम असुली गर्ने र विद्यालयहरुले फरक–फरक शुल्क गरेको गुनासो आइसकेपछि संगठनको ध्यानाकर्षण भएको भन्दै उक्त वितरण उपलब्ध गराउन माग गरिएको सचिव भोलनले बताउनुभयो । उहाँले उक्त विवरण प्राप्त भएपछि आफुहरु सम्बन्धित निकायमा उपस्थित हुने बताउनुभयो ।