Home मुख्य समाचार भाषा विधेयक पास गर्दैछौँः मुख्यमन्त्री जमकट्टेल

भाषा विधेयक पास गर्दैछौँः मुख्यमन्त्री जमकट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयताको कार्यान्वयन गर्दै प्रदेशले भाषा विधेयक पास गर्न लागेको बताउनुभएको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेशले पास गर्न लागेको भाषा विधेयक संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ । मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकार अहिले भाषा विधेयक पास गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो । आगामी बैशाख २४ गतेबाट प्रदेशमा भाषा विधेयक पास गरी कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यमा बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषा कार्यान्वयन घोषणा गर्ने तयारी भएको उहाँले बताउनुभयो । उहाँले यो विधेयक कार्यान्वयनका लागि विज्ञ समूह बनाउने बताउनुभयो । आगामी बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले विज्ञ समूह बनाउने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो– ‘हामीले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहको वडा–वडामा कार्यान्वयन हुने गरी भाषा विधेयकलाई कार्यान्वयन गर्छौँ । भाषा विधेयक कार्यान्वयन भएर अघि बढिसकेपछि नयाँ जागरण पैदा हुन्छ र सरकारी कार्यालयमा भाषाका कारण उत्पन्न हुने गरेको धेरै समस्या अत्य हुने विश्वास लिएका छौँ । ’

मुख्यमन्त्री जमकट्टेलले तत्काल प्रदेशभित्र रहेका कला, संस्कृति र सभ्यताको संरक्षण गर्ने ऐन बनाउने बताउनुभएको छ । पछिल्लो समय यी सबै कुराहरु धराशायी बन्दै गइरहेको भन्दै उहाँले यसको संरक्षणका लागि ऐन नै बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले नेपालको मुख्य सम्पदा र सभ्यताको विकासको आधार काठमाडौं उपत्यकाको नेवार सभ्यता भएको बताउनुभयो । नेवार सभ्यतासँग जोडिएका सबै कुरा अहिले विस्तारै धराशायी बन्दै गइरहेको भन्दै उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

देश संघीय शासन प्रणालीमा गइसकेपछि हिजोको सभ्यताको खोजतलास गर्न थालेको उहाँले बताउनुभयो । उहाँले यसको निकास गर्न कानुन चाहिने भन्दै सबै सभ्यताको पहिचान, कला संस्कृतिको संरक्षण गर्न बिना कानुन नसक्ने बताउनुभयो । सरकारले सानो लगानी गरेर कुनै अर्थ नरहने र सरकारले वार्षिक रुपमा बजेट छुट्याएर जान ऐन नै बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले आगामी साउन भदौसम्म ऐन बनाएर पास गर्ने पनि बताउनुभयो ।

मोर्चाका अध्यक्ष दीलिप महर्जन र महासचिव देवेन्द्र श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा लोप हुन लागेको नेवारहरुको सम्पदा, कला, संस्कृति र सभ्यतालाई संरक्षण गर्न संरक्षण कोष बनाउनुपर्ने माग गरिएको छ । नेवाः सम्पदामैत्री नयाँ बस्तीको विकास र योजना बनाउनुपर्ने, विश्व सम्पदामा सूचीकृत पुराना नेवाः बस्तीको पहिचानलाई जोगाइराख्नुपर्ने र नेवाः सभ्यताको अनुसन्धानका लागि प्रदेश सरकार माताहत नेवाः प्रतिष्ठान गठन गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।

सोही अवसरमा कीर्ति रिसर्च सेन्टर काठमाडौंले बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कीर्तिपुर नगरपालिकाभित्र रहेको अभिलेखहरुको संकलन, अध्ययन र भाषान्तरण गरी प्रकाशनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै पत्र बुझाएको छ ।

Exit mobile version