हेटौंडाः हरेक वर्ष बैशाखको पहिलो हप्ता मनाइने वन्यजन्तु सप्ताह यस वर्ष पनि मनाइने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विविध कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइने भएको हो ।

विगत वर्षहरुमा पनि वन्यजन्तु सप्ताह मनाउने गरेको वन विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले यस वर्ष पनि विविध कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउने भएका हुन् । कृषि तथा वन विश्वविद्यालयको वन विज्ञान संकाय र त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत बिद्यार्थीहरुले वन्यजन्तु संरक्षणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेको जानकारी दिएका छन् ।

बैशाख १ गतेदेखि ७ गतेसम्म वन्यजन्तु संरक्षण र सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना हुने बताइएको छ । विभिन्न संघसंस्थासँगको सहकार्यमा सप्ताव्यापी कार्यक्रम हुने आयोजक कमिटीेले जानकारी दिएको छ । पहिलो दिन उद्घाटन समारोह, होर्डिङ बोर्ड, डस्टविन स्थापना र वाटरहोल पुनस्थापना गरिनेछ । दोस्रो दिन सडक ¥याली र सचेतनामूलक फ्लेक्स प्रदर्शन गरिने भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन फोहोर खोज चुनौती र बालबालिका केन्द्रित जलवायु सचेतना गरिने बताइएको । यस्तै, चौथो दिन रक्तदान कार्यक्रम र प्यानल छलफल गरिनेछ भने पाँचौं दिन क्यामेरा ट्रयाप तालिम र खुला कला मञ्चको कार्यक्रम गरिने भएको छ । छैटौं दिन सर्प उद्दार तालिम र पक्षी विज्ञानसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने र सातौं दिन समापन कार्यक्रम गरिने आयोजक कमिटीले जानकारी दिएको छ ।