हेटौंडाः चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर १५ र १३ प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको कार्टरफाइनल खेलमा विजयी हुँदै वडा नम्बर १५ र १३ सेमिफाइनलमा पुगेको हो ।
शुक्रबारको पहिलो क्वार्टरफाइनल खेलमा हेटौंडा–१२ लाई ३–० गोल अन्तरले हराउँदै वडा–१५ सेमिफाइनलमा प्रवेश गरेको हो । १५ नम्बर वडाको जितमा विश्व भोलनले २ गोल गरेका हुन् । यस्तै, असिम मोक्तानले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विश्व भोलन घोषित भएको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले जानकारी दिनुभएको छ ।
शुक्रबारको दोस्रो क्वार्टरफाइनल खेलमा वडा नम्बर १३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ३ नम्बर वडालार्ई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै १३ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुई–दुई गोलको बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । टाइबे्रकरमा पनि बराबरीमा रोकिएपछि नतिजाको लागि सडन डेथको सहारा लिनुपरेको थियो । खेलको म्यान अफ द म्याच रोशन दोङ घोषित भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्र्नेछन् । यस्तै, तृतीय हुुनेले ५० हजार रुपैयाँ र चौथो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।