हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ८ र ९ मा क्वारेन्टाइन तयार भएको छ । जिल्लाभन्दा बाहिर एवम् विदेशबाट आएकालाई राख्न दुई वटै वडाले विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै हेटौंडा–१५ मा छिट्टै क्वारेन्टाइन सञ्चालनमा आउने बताइएको छ ।
वडा नम्बर ९ ले दिव्यज्योति आधारभुत विद्यालयमा १५ वेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । क्वारेन्टाइनमा सोमबार भारतबाट आएका २ जना र कुवेतबाट आएका १ जना रहेको वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल वडामा तराइका जिल्लाहरुबाट, भारतको विभिन्न सहरहरुबाट र अन्य मुलुकबाट आएका ४२ जना होम क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये अधिकांश औद्योगिक क्षेत्रका कर्मचारी रहेका छन् । उनीहरु लकडाउन सुरु हुँदा भारत गएको र हाल फर्किएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
हेटौंडा—९ मै रहेको हेटौंडा सिमेन्ट उद्योगले पनि ९ जनालाई आफ्नै क्वारेन्टाइनमा राखेको छ । यसअघि वडामा क्वारेन्टाइन सञ्चालनमा नभएकोले बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा पठाउनु परेको वडाअध्यक्ष भणडरीले बताउनुभयो । सोमबारबाट सञ्चालनमा आएको क्वारेन्टाइन पनि दाताहरुको सहयोगबाट सञ्चालनमा ल्याइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
वडा नम्बर ८ मा आज मंगलबारबाट क्वारेन्टाइन सञ्चालनमा आउने भएको छ । वडास्थित रोटरी प्राविलाई क्वारेन्टाइनको रुपमा निर्माण भैरहेको वडा नम्बर ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । रोटरीमा १५ वेडको क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाहिरबाट आएका वडाका ५ जना हेटौंडा–१० गोरक्षेश्वरस्थित क्वारेन्टाइनमा रहेको र ७ जना होम क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । उनिहरु तराइका जिल्ला, भारत र अन्य मुलुकबाट आएका हुन् ।
हेटौंडा—१५ मा पनि क्वारेन्टाइन निर्माण हुँदैछ । चुरियामाई मावि शिखरपानीमा १६ वेडको क्वारेन्टाइन केहि दिनमै सञ्चालनमा ल्याउने तयारी रहेको १५ नम्बरका वडा अध्यक्ष महारत्न लामाले जानकारी दिनुभएको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ मा क्वारेन्टाइन सञ्चालनमा आएको छ । यस्तै हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा उपमहानगरपालिकाले नै क्वारेन्टाइन सञ्चालन गरेको छ ।
हेटौंडा—१३ पदमपोखरीमा रहेको महेन्द्र मावि क्वारेन्टाइनमा रहेका ५ जनाको सोमबार पिसिआर परिक्षण गरिएको छ । उनिहरुको आज मंगलबारसम्ममा रिपोर्ट आउने १३ नम्बर वडाका वडा अध्यक्ष मनोजकुमार वाईबाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका पाँचै जना भारतबाट आएका हुन् । महेन्द्र मावि क्वारेन्टाइनलाई पनि व्यवस्थापन गर्न गारो परेको अध्यक्ष वाईबाको भनाइ छ । उहाँले भन्नुभयो, ‘क्वारेन्टाइन त सञ्चालनमा ल्याएका छौं तर व्यवस्थित छैन, क्वारेन्टाइनमा बसेकाहरुलाई घरबाट खाना लैजानु पर्छ ।’ क्वारेन्टाइनबाट यस अगाडि पनि ५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएर घर गएका छन् । वडामा हाल ३ जना होम क्वारेन्टाइनमा रहेका छन् । विदेशबाट स्वदेश फर्कने क्रम जारी छ । अब थपिनेलाई कसरी क्वारेन्टाइनको व्यवस्था मिलाउने भनेर आफुहरु अन्योलमा परेको वडा अध्यक्ष वाईबाले बताउनुभयो ।