हेटौंडा उपमहानगरपालिका ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले निजी विद्यालय वर्गीकरण कार्यविधि तयार गरेको छ । मंगलबार बिहान बसेको बैठकको निर्णयअनुसार विद्यालय वर्गीकरण कार्यविधि तयार गरिएको हो ।

विद्यालय वर्गीकरणका लागि ७० वटा मापडण्डसहित कार्यविधि तयार गरिएको छ । आगामी बैशाख १५ गते शनिबारदेखि वर्गीकरण सुरु हुने उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।

वर्गीकरणका लागि जम्मा २०० पूर्णाङ्कमा विद्यालयको मूल्यांकन हुनेछ । ८० प्रतिशतदेखि माथि अङ्क प्राप्त गर्ने विद्यालय ‘क’ श्रेणीमा वर्गीकरण गरिने कोइरालाले बताउनुभयो । यस्तै, ६० देखि ७९.९ प्रतिशतसम्म अङ्क प्राप्त गर्ने विद्यालयलाई ‘ख’ श्रेणी, ४० देखि ५९.९ प्रतिशतसम्म अङ्क प्राप्त गर्ने विद्यालयलाई ‘ग’ श्रेणी र ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने विद्यालयलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उहाँलेले बताउनुभयो । विद्यालयको वर्गीकरण भएपछि मात्र शुल्क निर्धारणको निर्णय हुने कोइरालाले जानकारी दिनुभयो ।