कोरोनाका कारण मुलुक बन्दाबन्दीमा रहेपछि धेरै मानिसलाई हाईसन्चो भएको छ । विशेषगरी सरकारी कर्मचारी तथा शिक्षकहरुले यस्तो महशुस गरेका छन् । दिनभर काम गर्नु वा पढाउनु पर्ने अवस्थामा लकडाउनले काम नै नगरी तलब प्राप्त भईरहेको छ । त्यसैले उनीहरुले अन्य क्षेत्रका नागरिक वा पेशाकर्मी भन्दा फरक अनुभूति गरेका छन् । जागिरे मनस्थिति भएकाहरुलाई लकडाउन सुखद् अवस्था छ तर जसले पेशालाई आफ्नो जीवनशैली र जिम्मेवारी सम्झेको छ उसका लागि लकडाउन अभिषाप भएको छ । तर केही गरौं भन्ने भावना भएकाहरुले यो अप्ठेरो अवस्थालाई पनि सदुपयोग गरेका छन् । अवसरका रुपमा परिणत गर्दै उपयोगी बनाएको अवस्था छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ साल चैत ११ गतेदेखि गरेको लकडाउन (बन्दाबन्दी) लाई हेटौंडाको एउटा विद्यालयका शिक्षकहरुले अवसरका रुपमा उपयोग गरेका छन् । उनीहरुले गरेको काम र प्रयास अरु क्षेत्र र वर्गका लागि पनि उदाहरण बन्न सक्छ । आफु जुन क्षेत्रमा सम्वद्ध छ त्यस क्षेत्रमा नयाँ श्रृजनाका लागि बन्दाबन्दीलाई उपयोग गर्न सकिन्छ भन्ने उदाहरण हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि बनेको छ । विद्यालयमा बन्दाबन्दीकै बेला शिक्षक, विद्यार्थीले गणित प्रयोगशाला निर्माण गरेका छन् । सहभागी बीच भौतिक दुरी कायम गरेर शिक्षक, विद्यार्थीको समूहले गणित प्रयोगशाला निर्माण गरेको हो । क्रियाकलापमा आधारित सिकाई प्रभावकारी हुने भएकाले पनि विद्यार्थीहरु पनि प्रयोगशाला निर्माणमा जुटेको पाईन्छ ।
प्रयोगशालाको निर्माणपछि गणित शिक्षण प्रभावकारी र सहज हुनेछ । यो विद्यालयले यसअघि सामाजिक प्रयोगशाला निर्माण गरिसकेको छ । कोरोनाको प्रभावका आधारमा लकडाउन केही खुकुलो भए पनि शैक्षिक संस्थाहरु कहिलेबाट सन्चालन हुने भन्ने अनुमान गर्न सकिने अवस्था छैन । साना नानीहरुको बाक्लो उपस्थिति हुने र उनीहरुले शारीरिक तथा भौतिक दुरी कायम गर्नका लागि सचेत नहुने भएकाले विद्यालयहरु सन्चालनमा समय लाग्ने देखिन्छ । त्यसैले यस्तो बेलामा विद्यार्थीलाई रचनात्मक काममा प्रेरित गर्नु उपयोगी छ । आफ्नै सहभागितामा प्रयोगशाला निर्माण हुँदा उनीहरु उत्साहित हुने नै छन् । प्रयोगशालाको भौतिक अवस्था माात्र हैन कि शिक्षकहरुले पढाउन आवश्यक पर्ने शैक्षिक सामाग्रीहरुको समेत व्यवस्थापन गरेका छन् ।
शिक्षण पेशा मात्रै नभएर एउटा कला र सामाजिकीकरण गर्ने क्षमता पनि हो । रोचक र गुणस्तरीय शैक्षिक वातावरणले मात्र सिकाईको गुणस्तर बढाउन सकिन्छ । यसका लागि शिक्षक तथा विद्यार्थी र अभिभावकको समेत सहभागिता अनिवार्य हुन्छ । यही आवश्यकता पुरा गराउन जनप्रिय माविले फरक शैलीका क्रियाकलाप गरेको पाईन्छ । शैक्षिक वातावरणका लागि प्रत्यक्ष सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन लगायतका पदाधिकारीबीच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोगले मात्र श्रृजना हुन सक्छ । कुनै एक विद्यालयले गरेको फरक क्रियाकलापलाई उदाहरणका रुपमा लिई रचनात्मक काममा अरुले प्रेरित हुने मौका समेत पाउन सक्छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक वातावरण बनाउने जिम्मेवारी पनि सबैको हो । त्यसैले नयाँ पद्दतीको विकास र त्यसका लागि आवश्यक सुझाव तथा सहयोग गर्नु पनि दायित्व हो । यही जिम्मेवारी जनप्रिय माविका अभिभावक, विद्यार्थी र शिक्षकहरुले देखाएका छन् ।