स्वास्थ्य केन्द्र भवनका लागि जग्गादान गर्ने जग्गादातालाई सम्मान गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–५ स्थित चन्द्रगढी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । निर्धारित समयभन्दा ३ वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले बिहिबार उद्घाटन गर्नुभयो । गाउँपालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा करिब ७५ लाख रुपैयाँमा स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण (डिके) पुडासैनीले निर्माण व्यवसायीको ढिलाईका कारण स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न हुन ढिलो भएको बताउनुभयो । यसअघि ३ वटा कोठाको भवन भाडामा लिएर स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको थियो । नवनिर्मित २ तल्लाको भवनमा ६ वटा कोठा रहेको छ । स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक मिलन कुमार उप्रेतीले नवनिर्मित भवनमा स्वास्थ्य केन्द्र स्थानान्तरण गरेपछि सेवा प्रवाहमा सहजता हुने बताउनुभएको छ ।

स्वास्थ्य केन्द्रमा उप्रेतीसहित सिनियर अनमी एकजना, अहेब एकजना, अनमी एकजना र एकजना कार्यालय सहयोगी छन् । स्वास्थ्य केन्द्रमा बहिरंग सेवासँगै परिवार नियोजन, मातृशिशु स्वास्थ्य सेवा, क्षयरोग, कुष्ठरोगको औषधी वितरण गरिँदै आएको छ । बर्थिङ सेन्टर सञ्चालनका लागि स्रोत, साधन तयारी भइरहेको उप्रेतीले बताउनुभएको छ ।

भवन उद्घाटनको अवसरमा स्वास्थ्य केन्द्रका लागि जग्गादातालाई सम्मान समेत गरिएको थियो । स्वास्थ्य केन्द्रका लागि बाटुली बल र बुद्धिमाया बलले ९ कठ्ठा र पेमा लामाले १ कठ्ठा जग्गा दान गर्नुभएको थियो । वडा अध्यक्ष दुधराज तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा, गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको पनि आतिथ्य रहेको थियो ।