तालिमको उद््घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष नवीन सिग्देल ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका विद्यालयका प्रारम्भिक बालविकास कक्षाका शिक्षकहरुका लागि तीनदिने तालिम सुरु भएको छ । वडा कार्यालयको आयोेजना तथा वडा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शैक्षिक सामग्री निर्माण तथा खेलको माध्यमद्वारा सिकाईसम्बन्धी तालिम बिहिबारबाट सुरु भएको छ ।

वडा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा श्रमिक माविमा तालिम सुरु भएको हो । तालिममा वडामा रहेका सामुदायिक र निजी दुवै गरी ८ वटा विद्यालयका शिक्षकको सहभागिता रहेको छ । सामुदायिक र निजी दुबै विद्यालयका शिक्षकबीच आपसी सहकार्य र समन्वयको समेत विकास गर्ने उद्देश्यले एकसाथ तालिमको आयोजना गरिएको वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभएको छ । ४ नम्बर वडामा कृषि, उद्यम जस्ता क्षेत्रमा नभई शैक्षिक क्षेत्रको सुधार गरी शैक्षिक केन्द्रको रुपमा विकास गर्नु उपयुक्त हुने भएकोले शिक्षामा उल्लेख्य लगानी गरिएको वडा अध्यक्ष सिग्देलको भनाइ थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत रमेश विडारीले ४ नम्बर वडाले शिक्षामा उल्लेखनीय कार्य गरेको बताउनुभयो । नगरको शिक्षा महाशाखाले गर्नु पर्ने कामहरु वडाले गर्दै आएको उहाँको भनाइ थियो । वडा शैक्षिक गुुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले शिक्षाको गुणस्तर अभिवृृद्धि गर्न पूर्वप्राथमिक तहबाटै मिहिनेत गर्नुपर्ने उल्लेख गर्नुहुँदै गत वर्षदेखि नै प्रारम्भिक बालविकास कक्षाका शिक्षकका लागि तालिमको आयोेजना गरिएको बताउनुभयो । तालिममा जमुना थापा र गंगा थापाले सहजीकरण गर्नुहुनेछ । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य गायत्री त्रिपाठी, वडा सचिव पुष्पराज पौडेल, बालमैत्री वडा सहजकर्ता अमिसा अधिकारीको पनि आतिथ्य रहेको थियो ।