हेटौंडाः बुधबार हेटौंडामा राष्ट्रिय मुक्ति मोर्चा अभियानका टोलीले जनप्रदर्शन गर्योे । निर्धारित समयभन्दा झण्डै एक घण्टापछि मोर्चा अभियान टोली प्रदर्शनमा उत्रिएको थियो । दिउँसो १ बजे बुद्धचोकमा कार्यक्रम रहेको भन्दै प्रहरी टोली आइपुगे पनि कार्यक्रम २ बजेपछि सुरु भएको हो ।

राप्तीरोड, सीमाचोक र कान्तिराजपथबाट तीन समूहमा आएर बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । सो क्रममा राजमार्ग नै बन्द हुने गरी बुद्धचोकमा भीड लाग्यो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरीलाई उक्त भीडलाई नियन्त्रण गरी राजमार्ग खुलाउन गाह्रो भयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम मगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले आफूहरुलाई बुद्धचोकमा राजमार्ग नै बन्द हुने गरी कार्यक्रम रहेको भन्ने कुनै सूचना नआएको बताउनुभयो । कार्यक्रमका लागि कुनै निकायबाट सूचना नआएको भन्दै प्रहरीले सवारी साधनलाई आवतजावत गर्न राजमार्ग खुलाउने प्रयास गर्योे । तर, उक्त अभियान टोलीका सदस्यहरुले उल्टै प्रहरी प्रशासनले दमन गरेको भन्दै एक समूहले आन्दोलन गर्न थाल्यो ।

बुद्धचोकमा मान्छेको भिड जम्मा हुँदा बिरामी लिएर आएको एम्बुलेन्सहरुको आवतजावतसमेत समेत प्रभावित भएको थियो । भिड हटाउन नसकेपछि एम्बुलेन्स पनि फर्केर अरु नै बाटो जानुपर्योे ।

कार्यक्रममा सहभागीमध्ये अधिकांश मकवानपुर जिल्ला बाहिरका थिए । ताम्सालिङ प्रदेश घोषणाका लागि आएको टोलीमा मधेशमूलका बढी देखिन्थे । जनप्रदर्शनमा अधिकांश सहभागीहरुमध्ये कतिलाई केका लागि हेटौंडा आएको भन्ने नै थाहा थिएन । आफूहरुलाई खाजा र केही भत्ता दिएर गाडीमा आउने र जाने व्यवस्था गरेपछि आफूहरु सहभागी भएको केहीले खुलाए ।