हेटौँडाः विश्व अटिजम दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले सेन्टर फर अटिजम मकवानपुरलाई थेरापीका सामग्रीहरु वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच वडाध्यक्ष नवीन सिग्देलले सामग्री हस्तान्तरण गर्नुभएको हो ।
वडाले ३ लाख रुपैयाँ बराबरको अटिजम सम्बन्धी सामग्री र प्रशासनिक सामग्री वितरण गरेको हो । उक्त सामग्रीहरुले बालबालिकाहरुमा बौद्धिक विकास पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष सिग्देलले बताउनुभयो । वडाले सोफा एक सेट, ल्यापटप, प्रिन्टर र थेरापीका लागि साइकल, म्युजिक किबोर्ड र स्पीकर लगायतका सामग्री वितरण गरेको हो । २०७८ सालदेखि मकवानपुरमा दर्ता भएर सेवा दिन सुरु गरेको संस्थामा अहिले २४ जना अटिजम भएका बालबालिकाहरु रहेका छन् ।
संस्थाका सचिव शेखर थपलियाले उक्त सामग्रीले संस्थालाई थप सहयोग पुगेको बताउनुभयो । अहिले ठाउँ र विभिन्न सामग्री अभावका कारण अरु अटिजम भएका बालबालिकाहरुलाई भर्ना लिन नसकिरहेको बताउनुभयो । अहिले भाडाका घरमा चलिरहेको संस्थामा स्थान सानो भएका कारण अरु अटिजमका बालबालिकाहरुलाई भर्ना लिन नसकेको उहाँले बताउनुभयो । सामग्री वितरण कार्यक्रममा वडा सदस्य जगन्नाथ पाण्डे, संस्थाका थेरापिष्ट डा. श्रमिका श्रेष्ठ र सदस्यहरु उमा कुमारी पौडेल लगायतको उपस्थिति रहेको थियो ।