हेटाँंडाः हेटौंडा–१ स्थित अमर मावि र हेटौंडा– १० स्थित ज्ञानदा माविमा आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्नाको तयारी सुरु भएको छ । कक्षा ९ सम्मका वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने र भर्ना अभियान सुरु गर्ने चरणमा रहेको दुबै विद्यालयका प्रधानाध्यापहरुले बताउनुभएको छ ।
अमर माविमा वार्षिक परीक्षा दिएका बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको नतिजाको लागि अन्तिम तयारी भइरहेको छ । यसअघि विद्यालयले चैत २५ गते आइतबार परीक्षाको नतिजा प्रकाशन गर्ने भनेको थियो । तर, विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा केन्द्र परेकाले दुई दिन पछि मंगलबार परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा विद्यालय रहेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो ।
गत वर्षको नतिजाभन्दा यस वर्ष विद्यार्थीहरुको नतिजा राम्रो आउने उहाँको भनाइ छ । विद्यालयले परीक्षाको नतिजा प्रकाशन गरिसकेपछि विद्यालय व्यावस्थापन समिति र शिक्षकहरुको बैठक बसेर नयाँ शैक्षिक सत्रको योजना बनाउने र सोही योजनाअनुसार अघि बढ्ने प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । विद्यालयमा बैशाख २ गते आइतबारदेखि विद्यार्थीहरुको नयाँ भर्ना सुरु हुने उहाँले बताउनुभयो । उहाँले विद्यालयमा विपन्न, जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गर्ने बताउनुभयो ।
यस्तै, ज्ञानदा माविमा पनि बाल कक्षादेखि ९ कक्षासम्मको विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरी भर्ना अभियान सुरु गर्ने तयारी भएको छ । आगामी चैत २९ गते बिहीबार वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी भएको विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले बताउनुभयो । गत वर्षको नतिजाभन्दा यस वर्षको नतिजा राम्रो रहेको उहाँको भनाइ छ ।
विद्यालयले भर्ना अभियानअन्तर्गत् पहिलो चरणमा घरदैलो कार्यक्रम गर्ने प्रधानाध्यापक सुवेदीले बताउनुभयो । उहाँले चैत २६ र २७ गते वडा कार्यालयको सहयोग र समन्वयमा भर्ना अभियानका लागि वृहत् कार्यक्रम हुन लागेको बताउनुभयो । विद्यालयमा आगामी वर्षदेखि कक्षा १ देखि ५ सम्म अंगे्रजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र कक्षा ८ मा अंगे्रजी र नेपाली दुबै माध्यमबाट कक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । विद्यालयमा डेस्कबेन्चमा सुधार गर्नुपर्ने र विद्यालयको प्रत्येक कक्षामा डिजिटल स्मार्ट टिभी ल्याउनका लागि प्रयास गर्ने योजनामा रहेको प्रधानाध्यापक सुवेदीले बताउनुभयोे ।