हेटौँडाः बागमती प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिई विपक्षमा उभिने संकेत दिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकार नेपाली काँग्रेससँगको साझेदारीलाई छोडेर नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण तयार पारेपछि बनेको नयाँ सत्ता गठबन्धनमा नेकपा एसले सम्मानजनक साझेदारीको अवसर नपाएको भन्दै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने संकेत गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले प्याकेजमा सहमति हुन नसकेको भन्दै विश्वासको मत नदिने संकेत गरेको हो । संसदीय दलका नेता कृष्ण खनालले समृद्ध समाजसँग कुरा गर्दै भन्नुभयो, “अहिलेको गठबन्धन सत्ता प्राप्तिका लागि भएको हो ।
नेकपा एसले संघ र प्रदेश कहिँ पनि नेतृत्वको अवसर पाएको छैन । संवैधानिक नियुक्तिहरुमा पनि कुनै अवसर पाएको छैन । यही अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने अवस्था छैन ।” प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकलौटी निर्णय गर्दै अगाडि बढेको भन्दै उहाँले यथास्थितिमा विश्वासको मत दिन नसकिने स्पष्ट पार्नुभयो ।